काठमाडौं । नेकपा एमालेको आगामी विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी दिइएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न नेताहरूलाई विधान महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी दिएको हो ।
जस अन्तर्गत महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई जिम्मा दिइएको छ भने विधान महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई जिम्मा दिइएको छ । यस्तै सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा.अधिकारीलाई जिम्मा दिइएको छ ।
त्यसैगरी कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठको जिम्मा दिएको छ । महाधिवेशनको प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई जिम्मा दिइएको छ । यस्तै स्वागतसहित विविध साँस्कृतिक कार्यक्रम व्यवस्थापन गर्न केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मा दिइएको छ।
एमालेको विधान महाधिवेशनका प्रतिनिधिले आवासको व्यवस्था आफैं गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका लागि सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने बताइएको छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ। विधान महाधिवेशनमा २२ सय ७९ जना प्रतिनिधि सहभागी हुने छन । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।
प्रतिक्रिया