काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लिपुलेक-लिम्पियाधुरा सीमा विवाद समाधानका लागि सरकारले भारत र चीनसँगै बेलायत (इंग्ल्यान्ड) सरकारसँग पनि कूटनीतिक संवाद गरेको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले आइतबार संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै यस्तो जानकारी दिएका हुन्। उनले नेपाल सरकारले विवादित भूमि सम्बन्धमा भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइसकेको बताए।
भारत पक्षबाट पनि त्यसको जवाफ प्राप्त भइसकेको उनको भनाइ छ। उक्त जवाफमा दुवै देशले आफ्ना इतिहासविद्, सर्वेयर तथा सम्बन्धित विज्ञहरू समावेश गरी वार्तामार्फत सीमा समस्या समाधान गर्ने सहमति भएको प्रधानमन्त्री शाहले बताए। ‘हामीले भारत र चीनलाई मात्र होइन, बेलायत सरकारलाई पनि यस विषयमा जानकारी गराएका छौँ’, प्रधानमन्त्री शाहले भने, ‘ब्रिटिस–इन्डिया छोड्दाको ऐतिहासिक जटिलताका कारण उत्पन्न समस्या अझै बाँकी रहेकाले बेलायतले पनि यसमा चासो लिनुपर्ने हाम्रो धारणा हो।’
उनका अनुसार लिपुलेक-लिम्पियाधुरासम्बन्धी विवादलाई कुनै एकपक्षीय होइन, टेबलमा बसेर कूटनीतिक वार्ता मार्फत समाधान गर्ने सरकारको नीति रहेको बताए। सरकारले यस विषयलाई दीर्घकालीन समाधानतर्फ लैजान अन्तर्राष्ट्रिय समन्वय र ऐतिहासिक प्रमाणहरूको अध्ययनलाई आधार बनाउने तयारी गरेको पनि जनाएको छ।
प्रतिक्रिया