×

विपन्नलाई नि:शुल्क उपचार नगरे अस्पताल बन्द गर्ने बालेनको चेतावनी

images

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम दिएका छन् । मेयर शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् । अन्यथा महानगरपालिकाले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख छन् ।

मेयर शाहका अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरिएको थियो । यही जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण माग्दा समेत ६८ स्वास्थ्य संस्थाले उपलब्ध नगराएको मेयर शाहको भनाइ छ ।  

बुधबार बिहान सामाजिक सञ्जाल मार्फत उनले यसबारे जानकारी गराएका हुन् । उनले भनेका छन्–‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरूले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०–०२–०६ गते सार्वजनिक सूचना जारी भैसकेको छ । ' 'यदि मन्त्रीज्यूले ७ दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ,' उनले भनेका छन्। 

 
बुधबार १७ जेठ २०८० ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया