नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताउनुभएको छ । नेकपा एमाले कालीकोटले खाडाँचक्र नगरपालिका–१ मान्ममा आयोजना गरेको आमसभामा उहाँले वर्तमान सरकारबाट आजित भएर जनताले चाँडै एमालेको सरकार भन्ने चाहेको बताउनुभएको हो ।
“विगत तीन वर्ष सरकारमा हुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “यो देश विकास गर्ने पार्टी हो । देश बनाउने पार्टी हो । गलत कुरा गर्न सकिँदैन । कसैलाई गाली गर्दैन । एमालेलाई बहुमत दिएर सरकारमा पठाएका थिए । तर अदालतले सरकारले ढाल्यो ।”
एमाले सरकारमा हुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताले फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ इच्छा राखिरहेका उहाँको भनाइ थियो । स्थानीय तहको निर्वाचनमा एमालेकै नेतृत्व हावी हुने र आगामी प्रदेश तथा प्रतिनिधिसभामा पनि एमालेकै सरकार बन्ने उहाँको दाबी छ । “आउने निर्वाचनमा एमालेले जितेर फेरि सरकार नेतृत्व गर्छ र नागरिकका समस्या समाधान गर्छ”, उहाँले भन्नुभयो, “गठबन्धनले देशको हित गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धन पत्तासाफ हुनेछ ।”
प्रतिक्रिया