×

क्यानका केन्द्रीय सदस्यद्वारा लिखित रुपमै अध्यक्षको राजीनामा माग

images

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् । केहीदिनअघि मात्रै पत्रकार सम्मेलन गरेर अध्यक्षसहित कार्यसम्पादन समितिका ५ पदाधिकारीको राजीनामा मागेका उनीहरुले मंगलबार लिखित रुपमै राजीनामा मागेका हुन् ।

नेपाल टी-२० लिगको जिम्मा भारतीय कम्पनीलाई दिएर नेपाली क्रिकेटलाई बदनाम गरेको आरोपसहित कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

राजीनामा माग्ने केन्द्रीय सदस्यमा ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छ्न्। राजीनामा गरेर नेपाल टी-२० लिगका दौरान भएका गल्तीको छानविन गर्न सघाउनु ‍पर्ने उनीहरुको भनाइ छ।

साथै क्रिकेट संघको निलम्बनको भने उनीहरुले विरोध गरेका छन्। तर पाँच जनालाई भने निलम्बन गरी कारबाही गर्नुपर्ने उनीहरुले बताए।  आफूहरुले सचेत गराउँदा पनि चन्द नेतृत्वले उक्त लिगको आयोजना गर्न भारतीय कम्पनीलाई दिएर गल्ती गरेको उनीहरुले आरोप लगाएका छन् ।

उक्त प्रतियोगितामा नेपाली क्रिकेट टोलीका केही खलाडी र सेभने थ्री स्पोर्टस्का पदाधिारीसमेत स्पट फिक्सिङमा संलग्न भएको खुलेको थियो । त्यसपछि अध्यक्ष चन्दले उक्त प्रतियोगिता आयोजना गर्न सेभेन थ्री स्पोर्टस्लाई दिएर आफूहरुले गल्ती गरेको स्वीकार गरेका थिए । 

मङ्गलबार १७ माघ २०७९ ०२:५१ PM मा प्रकाशित

प्रतिक्रिया