काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्नु उचित नभएको बताएका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्ने कामको कांग्रेसले संसदमा साथ नदिने र संस्थागत रुपमा यसको भारी नबोक्ने बताएका हुन्।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयकलाई स्वीकार गर्न नसकिने उनले बताए। उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा सर्वपक्षीय छलफल गर्दै संशोधनका साथ अघि बढाउनुपर्नेमा जोड दिए। त्यस्तै उनले संसद नचलेका बेलमा सरकारले अध्यादेश ल्याउन सक्ने भन्दै अध्यादेश ल्याउँदैमा विरोध गरिहाल्नु नपर्ने धारणा राखे।
उनले कांग्रेसले विगतमा पनि सरकारले ल्याएका विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने दावी गरे।
‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन‚ सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन। विगतमा नेपाली कांग्रेसले अध्यादेशको विरोध गरेको उदाहरण पनि छ र कांग्रेसले विपक्षमा रहेको वेला सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ‚’ उनले भने, ‘अध्यादेश हो त्यसको विरोध गरौँ भन्ने किसिमले हेर्नु हुँदैन। कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गरिन्छ। सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रियसभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रुपमा बोल्छु।’
प्रतिक्रिया