समयअगावै जन्मिने शिशुका निम्ति कृत्रिम गर्भाशय 'वरदान बन्न सक्ने', तर जोखिम र नैतिक प्रश्न पनि उत्तिकै

    images

    कृत्रिम साल र गर्भाशयले समयअगावै जन्मिने शिशुको ज्यान बचाउन सक्छ। तर मानवमाथि यसको परीक्षण थाल्नुअघि कस्ता नैतिक सवालहरूबारे विचार गरिनुपर्ला?

    मानव शिशुलाई आमाको कोखबाट झिकेर तरल पदार्थले भरिएको एउटा भाँडामा हुर्काउने कुरा झट्ट सुन्दा कुनै ‘खराब’ विज्ञानकथामा आधारित चलचित्रको अंशजस्तो सुनिन्छ। तर अमेरिकाको पेन्सिल्भेनियास्थित चिल्ड्रन्स हस्पिटल अफ फिलडेल्फिया (सीएचओपी) का वैज्ञानिकहरू पूरा महिना नपुगी अत्यन्तै अगाडि जन्मिने जोखिममा भएका शिशुहरूका निम्ति ठ्याक्कै यही गर्न प्रस्ताव गरिराखेका छन्।

    उनीहरू नवजात शिशुको विकासका निम्ति कृत्रिम वा अतिरिक्त गर्भाशयको विकास गर्दै छन्। यसको उद्देश्य गर्भाधानदेखि जन्मिँदासम्म भ्रूणको विकास गर्नु होइन। चाहेर पनि त्यसो गर्न सम्भव छैन। यसको उद्देश्य खालि पूरा समयभन्दा पहिले जन्मने शिशुको जीवित रहने दरलाई बढाउनु हो किनकि यस्ता शिशुहरूले जीवनभर कैयौँ किसिमका स्वास्थ्य समस्याहरूको सामना गर्ने जोखिम हुन्छ।

    सामान्य र स्वस्थ गर्भावस्था लगभग ४० सातासम्म चल्छ। सैँतीस सातालाई शिशुका निम्ति पूर्ण अवधि मानिन्छ। तर गर्भावस्थाका क्रममा कहिलेकाहीँ विभिन्न जटिलताहरू देखा पर्छन् र समयअगावै शिशुको जन्म हुन्छ।

    सौभाग्यवश नवजात शिशुहरूका निम्ति चिकित्सा क्षेत्रमा पछिल्ला केही दशकमा ठूलो प्रगति भएको छ। समयअगावै जन्मिएका अधिकांश शिशुहरू सामान्य समस्याहरू लिएरै अस्पतालबाट डिस्चार्ज हुने गर्छन्। यससम्बन्धी ताजा तथ्याङ्कअनुसार २२ सातामा जन्मिएका तर उच्च हेरचाह प्राप्त गरेका ३० प्रतिशत शिशु बाँचेका छन्।

    “इमान्दारीका साथ भन्नुपर्दा २८ साताका वा २७ साताकै शिशुले पनि धेरै राम्रो गरेका छन्”, क्यान्सस सिटीस्थित चिल्ड्रन्स मर्सी अस्पतालकी नवजात शिशुविशेषज्ञ स्टेफनी कुकोरा भन्छन्।

    “बाईस वा तेईस सातामा जन्मिएका शिशुहरूको अवस्था भने यति गम्भीर हुन्छ कि हामी उनीहरूले प्राप्त गर्ने जीवनको गुणस्तर स्वीकार्य हुने वा नहुने भन्ने विषयमा निश्चित हुन सक्दैनौँ।”

    त्यस्ता शिशुहरूले प्राय: जटिल स्वास्थ्य चुनौतीहरूको सामना गर्छन्। जन्मिँदाखेरि तिनको तौल ९०० ग्रामजति हुन्छ। मुटु, फोक्सो, पाचनसम्बन्धी अङ्गहरू र मस्तिष्कसमेत सघन उपचारबिना जीवित राख्न सकिने गरी विकसित भइसकेका हुँदैनन्।

    यस्तोमा चाँडोचाँडो देखिने समस्यामा ‘नेक्रोटिसिङ इन्टेरोकोलिटिस’ भनिने आन्द्रामा हुने सङ्क्रमण पनि पर्छ, जसका कारण आन्द्राका कोषिकाहरू पोल्ने र मर्न थाल्नेजस्ता समस्या देखा पर्छन्।

    यस उमेरका शिशुमा सङ्क्रमण, सेप्सिस वा सेप्टिक शक भनिने फोक्सो, मिर्गौला, कलेजो र अन्य महत्वपूर्ण अङ्गमा क्षति पुग्ने गरी अचानकसँग रक्तचाप घट्ने समस्या हुने खतरा अधिक हुन्छ।

    त्यस्तै यस्ता शिशुमा हुन सक्ने अन्य जटिल समस्यामा सेरेब्रल पोल्सी, मध्यमदेखि गम्भीर स्तरका सिकाइसम्बन्धी समस्या, दृष्टि तथा सुनाइसम्बन्धी समस्या तथा दम देखा पर्न सक्छ।

    अरू त कुरै छाडौँ, शिशुको ज्यान बचाउनका निम्ति तयार पारिएको अत्याधुनिक अक्सिजनयुक्त भेन्टिलेशनले पनि यस्ता शिशुको कोमल फोक्सोमा क्षति पुर्‍याउन सक्छ।

    मिशिगन विश्वविद्यालयको सीएस मट बालअस्पतालका शल्यक्रिया, प्रसूति एवं स्त्रीरोग विज्ञानका प्राध्यापक जोर्ज माइकलिस्का भन्छन्, “प्रारम्भिक गर्भावस्थामा फोक्सोको विकास भइरहेको हुन्छ र त्यो तरल पदार्थले भरिएको हुनुपर्छ।”

    “तर जब उनीहरूको समयअगावै जन्म हुन्छ, हामी उनीहरूको श्वाशनलीमा एन्डोट्राकीअल (कृत्रिम श्‍वास पठाउने) नली राखिदिन्छौँ। त्यसको माध्यमबाट हामी ठूलो प्रवाह र दबावका साथ हावा तथा अक्सिजन भित्र पठाउँछौँ। यसले चोट पुर्‍याउने गरेको स्पष्टसँग देखिएको छ।”

    समयक्रममा त्यसले फोक्सोमा दाग बनाइदिन थाल्छ र ‘ब्रोङ्कोपल्मोनरी डिस्प्लेसिआ’ भनिने फोक्सोको गम्भीर समस्या पैदा गराउँछ। यस्तो बेला शिशुहरू दिर्घकालीन अक्सिजन सहायता आवश्यक पर्ने स्थितिमै अस्पतालबाट बिदा हुन्छन् र उनीहरुलाई जीवनपर्यन्त यान्त्रिक भेन्टिलेशनमा बस्नुपर्ने हुन्छ। भेन्टिलेशनले पनि अन्धोपनाको खतरा बढाउँछ।

    यस्ता शिशुको आँखाको रेटिनालाई पोषण प्रदान गर्ने रक्त्तवाहिनी नली पुरै विकसित भइसकेको हुँदैन। अत्याधिक अक्सिजनले पनि नयाँ र असामान्य रक्तवाहिनी नलीलाई क्षति पुर्‍याउन सक्छ र अन्तत: रेटिनालाई अलग्याइदिने स्थिति बन्न सक्छ।

    फोक्सोको सुरक्षासँग जोडिएको छ नयाँ प्रविधि

    कृत्रिम गर्भाशय र साल

    कृत्रिम गर्भाशय र साल विकासको उपाय फोक्सोको सुरक्षासँग जोडिएको छ। यसले शिशु पहिलो श्वास फेर्न तयार नहुँदासम्म भ्रूणलाई एउटा सुरक्षित वातावरणमा विकास हुन समय दिने उद्देश्य राख्दछ।

    यो प्रविधिमा मुख्यतः वैज्ञानिकहरूका तीन वटा भिन्दाभिन्दै समूहले काम गरिराखेका छन्। यी तीनवटै समूह विगतदेखि प्रयोग हुँदै आएको ‘एक्स्ट्राकर्पोरल मेम्ब्रेन अक्सिजेनेशन’ (एक्मो) भनिने मुटु र फोक्सोले राम्ररी काम नगरेको अवस्थामा दिइने सहयोग–प्रणालीबाट प्रभावित छन्। ‘एक्मो’मा बिरामीको रगतललाई पम्प गरेर शरीरबाहिर निकालिन्छ र मेसिनले कार्बनडाइअक्साइड हटाउँदै अक्सिजन थपिन्छ। त्यसपछि पुन: अक्सिजनयुक्त रगतलाई शरीरका कोषिकाहरूमा पठाइन्छ।

    यो पद्धतिमा रगतलाई ‘बाइपास’ गरिने हुँदा मुटु र फोक्सोले आराम गर्ने र निको हुने मौका पाउँछन्। ठूला उमेरका केटाकेटीलाई यो उपचार दिन मिल्ने भएपनि असाध्यै छिटो जन्मिएका शिशुका निम्ति यो उपयुक्त छैन।

    तीनवटै समूहले विकासोन्मुख प्रविधिलाई सहज र अनुकूलित बनाउने प्रयास गरिराखेका छन्। तथापि विकासक्रममा रहेका प्रविधिहरूमा जटिल अन्तरहरू भने छन्।

    सीएचओपीका वैज्ञानिकहरू भ्रूणसम्बन्धी सर्जन एलन फ्लेकको नेतृत्वमा काम गरिरहेका छन्। उनीहरू त्यस्ता शिशुलाई गर्भाशयमा हुने तरल पदार्थको नक्कल गरी तयार पारिएको तरल पदार्थयुक्त भाँडोमा डुबाएर राख्ने योजनामा छन्।

    शल्यचिकित्सकहरूले त्यसपछि शिशुको नालका ससाना रक्तवाहिनी नलीलाई एक्मोजस्तै मशीनसँग जोड्नेछन्। त्यसपछि प्राकृतिक जस्तै गरी शिशुको मुटुले प्रणाली वरिपरी रक्त प्रवाह गर्न थाल्छ।

    फ्लेक र उनका सहकर्मीहरूले सन् २०१७ मा भेडाहरूमाथि यो परीक्षण गरिसकेका छन्। त्यस क्रममा उनीहरूले भेडालाई कृत्रिम गर्भाशयको माध्यमबाट चार सातासम्म जीवित राखेका थिए।

    अर्कोतिर मिशिगन विश्वविद्यालयका जोर्ज माइकलिस्काको समूह उनीहरूकै शब्दमा कृत्रिम सालको विकास गर्दै छन्। पूरै शरीरलाई तरलमा डुबाउनुको साटो उनीहरू श्वासनलीको माध्यमबाट शिशुको फोक्सोलाई विशेष किसिमले विकास गरिएको तरल पदार्थले भर्ने योजनामा छन्। उनीहरूले विकास गरेको प्रणालीले परम्परागत ‘एक्मो’ मेसिनले झैँ घाँटीको नसाको माध्यमबाट मुटुको सबै रगत झिक्छ र नाइटोको नसामार्फत् अक्सिजनयुक्त रगत भित्र पठाउँछ।

    माइकलिस्का भन्छन्, “म (यो उपचारपद्धति) अधिकांश शिशुहरूलाई सजिलै उपलब्ध हुने मञ्च बनोस् भन्ने चाहन्छु, जसको उपयोग हाल विद्यमान एकाइहरूमा नवजात शिशुको सघन हेरचाहका निम्ति गर्न सकियोस्।”

    “यो प्रविधिको उद्देश्य सालका असङ्ख्य कार्यलाई प्रतिस्थापित गर्नु होइन। यो ग्यास आदानप्रदान गर्न, रक्तचापलाई सन्तुलित राख्न, मुटुको चाल ठिक राख्न र विकसित हुँदै गरेको भ्रूणका अन्य अङ्गहरूलाई सुरक्षित राख्नमा केन्द्रित छ।”

    हालै भेडामा यसको परीक्षण गरिएको थियो। मेकानिकल भेन्टिलेशनमा स्थानान्तरण गर्नुअघि ती भेडाहरू १६ दिनसम्म बाँचे। उक्त अवधिमा तिनको फोक्सो, मस्तिष्क र अरू अङ्गहरू राम्ररी विकसित भएको पाइयो।

    मेकानिकल भेन्टिलेशन

    अस्ट्रेलिया र जापानमा क्रियाशील तेस्रो समूह कृत्रिम गर्भाशयको विकास गरिराखेको छ। त्यसलाई ‘एक्स भिभो यूटराइन इन्भाइरमन्ट (ईभीई) थेरपी’ भनिन्छ। यसले अन्य दुई समूहको तुलनामा अझ छिटो जन्मिने र अस्वस्थ नवजात शिशुको उपचार गर्ने उद्देश्य राख्छ।

    “हामी अहिले त्यस्तो बिन्दुमा छौँ जहाँ हामी पाँच सय ग्रामको (भेडाको) भ्रूणलाई निकाल्न सक्छौँ र दुई सातासम्म सामान्य शारीरिक अवस्थामा राख्न सक्छौँ”, ईभीई कार्यक्रमको नेतृत्व गर्दै आएका न्याश्‍नल युनिभर्सिटी अफ सिङ्गापुरका प्रसूति तथा स्त्री रोगविशेषज्ञ म्याट केम्पले भने।

    “यो एकदम राम्रो उपलब्धि हो। फेरि अर्कोतिर भ्रूणको असामान्य विकास भइरहेको छ।”

    कृत्रिम साल र गर्भाशयको अधिकांश परीक्षण भेडाका भ्रूणहरूमा गरिएका छन्, जो हस्तक्षेप नगरिएको खण्डमा स्वस्थ हुन्थे र आफ्नो पूरा अवधि भोगेका हुन्थे। तर अविकसित अवस्थामा जन्मिने शिशु आमा वा भ्रूणमा आउने स्वास्थ्यसम्बन्धी जटिलताका कारण चाँडो जन्मिएका हुन्छन्। त्यसैले तिनको उपचार अधिक जटिल हुन्छ।

    “एउटा मामिलामा हामी एक हदसम्मको विकृत भ्रूणमाथि काम गरेका थियौँ। तिनीहरूलाई व्यवस्थापन गर्न अधिक जटिल छ”, केम्पले भने।

    “तिनीहरूको विकास एकदमै खराब थियो। रक्तचाप अधिक थियो। उनीहरूलाई सामान्य स्थितिमा राख्न एकदम गाह्रो भयो। त्यो एउटा मामिला भयो। तर हो, हामीले केही राम्रो प्रगति गरेका छौँ। तर धेरै चिजमा पक्का हुन बाँकी नै छ।”

    कृत्रिम साल र गर्भाशयको प्रयोग कहिलेबाट देख्न पाइएला?

    यो मामिलामा सीएचओपीको कार्य सबैभन्दा अघि छ।

    उक्त समूहले हालै अमेरिकाको औषधिसम्बन्धी निकाय ‘एफडीए’ सँग मानवमाथिको परीक्षणलाई अघि बढाउन अनुमति मागेको छ। माइकलिस्काको समूहले मानवको नवजात शिशुको रक्तवाहिनी नलीहरूसँग अनुकूलित हुने गरी आफ्नो प्रणालीलाई अझै सूक्ष्म बनाउँदै छ। माइकलिस्का मानवमाथि परीक्षण सुरु हुन तीनदेखि चार वर्ष लाग्ने आशामा छन्।

    उता केम्प भने कृत्रिम गर्भाशयमा भ्रूणको विकास कसरी हुन्छ भन्नेबारे पूर्ण जानकारी नभइसकेकाले मानवमाथि परीक्षण सुरु गर्नुअघि थप ज्ञान हासिल गर्नुपर्ने धारणा राख्छन्।

    उनी भन्छन्, “एकदमै सानो भ्रूणमा सामान्य तरिकाले आफ्नो विकासलाई निर्देशित गर्ने क्षमता हुँदैन र अस्वस्थ हुँदा स्थिति झनै बिग्रन्छ भन्नेमा हामी स्पष्ट छौँ भन्ने लाग्छ।”

    “त्यसैले हामी सबै विकासक्रमलाई सामान्य राख्न सालको भूमिकालाई उजागर गर्ने प्रयत्नमा छौँ। सरल तरिकाले भन्दा यो निकै ठूलो कार्य हो।”

    शिशुको सघन उपाचार

    कस्ता नैतिक चुनौतीहरू छन्?

    यसका विचारणीय नैतिक पक्षहरू पनि छन्। हालैको एउटा आलेखमा स्टेफनी कुकोरा विशिष्ठ प्रविधिबीच पनि अद्वितीय नैतिक चुनौती पैदा गर्ने जटिल अन्तरहरू रहेको तर्क गर्छिन्। उदाहरणका निम्ति ईभीई र सीएचओपी दुवै समूहले बनाएको कृत्रिम गर्भाशय र सालमा एउटा नली जोड्नुपर्ने हुन्छ। जन्मनेबित्तिकै नालको रक्तवाहिनी नली बन्द हुने भएकाले शिशुलाई तत्काल आमाबाट झिकेर मशीनमा सार्नुपर्ने हुन्छ। अन्यथा योनिबाट जन्म दिन सक्ने आमाको पनि शल्यक्रिया गराउनुपर्ने हुन्छ।

    “त्यति चाँडै शल्यक्रिया गर्दा पूर्णावस्थामा झैँ गर्न सकिँदैन”, कुकोरा भन्छिन्।

    “त्यसरी चिर्ने क्रममा गर्भाशयभित्रको मांसपेशीको पत्र पनि चिरिन्छ। त्यसले भविष्यको गर्भधारण कार्यलाई असर पार्न सक्छ। पछि जन्मने शिशुलाई योनिबाटै जन्माउने कि पेट चिरेर निकाल्ने भन्ने प्रश्न उठ्छ।”

    योनिबाट जन्म दिने तरिकको तुलनामा यस प्रक्रियामा धेरै जोखिम पनि छ र यसमा पूर्वसहिमतिको सवाल पनि उठ्छ।

    “मेरो विचारमा सबैभन्दा ठूलो कुरा भनेको हामी यी विषयमा आमाबुवा बन्दै गरेकाहरूसमक्ष कसरी प्रस्तुत हुन्छौँ भन्ने हो”, उनी भन्छिन्।

    “तपाईँ कल्पना गर्नुस्, जसले एकदम खराब अवस्थाको सामना गरिराखेका छन्, जसलाई भर्खरै २२ सातामै नाजुक स्थितिमा शिशु पैदा हुन लागेको विषयमा परामर्श दिइएको छ र ती परीक्षण नभएको भए पनि नयाँ कुराबारे उत्साहित हुन सक्छन्। आमाबुवाहरू आफ्नो सन्तानका निम्ति जे गर्न पनि तयार हुन्छन्।”

    अर्को कुरा चाहिँ तत्काल विस्तारित प्रणालीमा स्थानान्तरण गर्दा उक्त शिशुलाई परम्परागत उपचार पद्धतिले कस्तो प्रभाव पार्थ्यो भन्ने जाँच्न सकिँदैन।

    “कसलाई विस्तारित प्रणालीमा पठाउने भन्नेबारे गर्भावस्थाकै स्थितिमा विस्तृत जानकारी हुँदैन किनकि शिशु जन्मिइसकेको हुँदैन र उसले कस्तो गरिरहेको छ भन्ने थाहा पनि हुँदैन,” माइकलिस्का भन्छन्।

    के यो प्रविधि वरदान बन्न सक्छ?

    यसको अर्थ परम्परागत उपचार पद्धतिमा राम्रो सुधार हुन सक्ने शिशुको पनि परीक्षण नभइसकेको नयाँ प्रविधिमार्फत् उपचार गर्न सकिन्छ भन्ने हो। यसमा कम जोखिम छ। माइकलिस्का विस्तारित प्रणाली मृत्यु र रोगको जोखिममा रहेका २२–२३ साताका गर्भावस्थाका शिशुका निम्ति उपयुक्त हुने ठान्दछन्।

    यो पद्धतिमा नाइटो नभई घाँटीको नसाबाट रगत झिकिने भएकाले कृत्रिम सालमा शिशुलाई राख्न चिकित्सकहरूले बढी समय प्राप्त गर्दछन्। यसले चिकित्सकहरूलाई शिशुको जन्मपछिको “जोखिमलाई तहअनुरूप व्यवस्थापन गर्न” अवसर दिन्छ ताकि सबैभन्दा बिरामी शिशुलाई यस परीक्षणअन्तर्गतको उपचार शाखामा स्थानान्तरण गर्न सकियोस्। शिशुलाई पहिले परम्परागत तरिकाले उपचार गरेर त्यसमा राम्रो गर्न नसकेको खण्डमा मात्रै कृत्रिम सालमा स्थानान्तरण गर्न पनि सकिन्छ। अन्य दुई प्रविधिको विपरीत आमाले शिशुलाई योनिकै माध्यमबाट जन्म दिन पनि सक्छिन्।

    जुनसुकै प्रविधि पहिले परीक्षणको स्थितिमा पुगे पनि सबैभन्दा पहिले चौबीस साताभन्दा अगावै जन्मिएको शिशुमाथि परीक्षण हुने सम्भावना छ। त्यस्तो शिशुलाई परम्परागत उपचारमार्फत् जोगाउन सक्ने सक्ने सम्भावना कम हुन्थ्यो।

    “मेरो विचारमा यो प्रविधिले यस क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने छ। कृत्रिम साल र तदनुरूप विस्तारित तरिकाले चिकित्सकीय अभ्यासलाई बलियो बनाउनेछ”, माइकलिस्का भन्छन्।

    “यसको अर्थ यसमा जोखिम छैन भन्ने होइन। यसको सुरक्षाबारे प्रारम्भिक परीक्षणकै क्रममा लेखाजोखा गरिनुपर्छ। मेरो विचारमा बाँच्ने सम्भावना अत्यन्तै कम भएका शिशुहरूमा यसको प्रारम्भिक परीक्षण गर्नु उपयुक्त हुन्छ। यो प्रविधिको प्रभाव र जोखिम निर्धारण गरिसकेपछि बल्ल समयअगावै जन्मिने अन्य शिशुहरूमा यसको विस्तार गर्न सकिन्छ।” सफल भएको खण्डमा यी तीनवटै प्रविधि समयअगावै बच्चा जन्माउने स्थितिमा पुगेका मातापिताका निम्ति वरदान बन्न सक्छन्। (ज्यास्मिन फोक्स–स्केल, समाचार, तस्बिर साभार : बीबीसी नेपाली)

    मङ्गलबार १५ साउन २०८१ १२:२५ PM मा प्रकाशित

    प्रतिक्रिया