काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँले घटेको हो ।
यस गिरावटसँगै आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन (बुधबार) सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनको मूल्यले पछिल्लो दुई दिनमै ठूलो धक्का बेहोरेको छ। गत मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो। तर, बुधबार र बिहीबार लगातार ओरालो लाग्दै दुई दिनमै तोलामा १५ हजार २ सय रुपैयाँले सुन सस्तिएको महासंघले जनाएको छ।
पछिल्लो एक साताको तथ्याङ्क हेर्ने हो भने सुनको मूल्यमा अझ ठूलो गिरावट देखिएको छ। गत हप्ताको बिहीबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको थियो। उक्त मूल्यको तुलनामा यस बिहीबारसम्म आइपुग्दा एक सातामै सुन तोलामा २४ हजार ४ सय रुपैयाँले सस्तो भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। बिहीबार चाँदीको भाउ तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत मंगलबार भने चाँदी प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँसम्म पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावकै प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।
प्रतिक्रिया