काठमाडौँ, जेठ २८ गते । विश्व फुटबलकै सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ को आज रातिदेखि औपचारिक सुरुवात हुँदैछ। यस ऐतिहासिक अवसरमा बलिउडकी चर्चित अभिनेत्री तथा नृत्यङ्गना नोरा फतेहीले उद्घाटन समारोहमा आफ्नो धमाकेदार प्रस्तुति दिने भएकी छन्।
क्यानडाको टोरन्टोस्थित ‘टोरोन्टो रंगशाला’ (बीएमओ फिल्ड) मा नेपाली समय अनुसार आज राति सवा ११ बजेदेखि उद्घाटन समारोह सुरु हुनेछ। खेलको औपचारिक उद्घाटन भने राति १२:४५ बजे तय गरिएको छ। फिफाको कर्पोरेट नाम प्रयोग गर्न नमिल्ने नियमका कारण बीएमओ फिल्डलाई प्रतियोगिता अवधिभर ‘टोरोन्टो रंगशाला’ नामकरण गरिएको छ।
यसअघि फिफा विश्वकप २०२२ को समापन समारोह र केही समयअघि सम्पन्न टी–२० विश्वकप २०२६ को उद्घाटन समारोहमा समेत आफ्नो नृत्यको जादू देखाइसकेकी नोराले यसपटक नयाँ कीर्तिमान बनाउँदै छिन्। उनी फुटबल र क्रिकेट दुवैको विश्वकप उद्घाटन समारोहमा प्रस्तुति दिने पहिलो र एकमात्र बलिउड कलाकार बनेकी छन्।
विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्रहरू— अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा यस प्रतियोगिताको आयोजना गर्दैछन्। उद्घाटन सत्र तीनवटै देशमा एकैसाथ सुरु हुने र फरक-फरक स्थानमा विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिनेछन्। क्यानडामा नोराका साथै बङ्गलादेशी मूलका अमेरिकी डीजे सञ्जय, माइकल बुब्ले, एलेसिया कारा र एलानिस मोरिसेट जस्ता स्थापित अन्तर्राष्ट्रिय कलाकारहरूले पनि स्टेज सेयर गर्नेछन्।
आजदेखि सुरु भई आगामी जुलाई १९ (साउन ४ गते) सम्म चल्ने यो विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो र फरक स्वरूपको हुनेछ।
सहभागी टिम: यसपटक टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याइएको छ।
कुल खेल संख्या: ३९ दिन चल्ने यो महाकुम्भमा कुल १०४ खेलहरू खेलाइनेछन्।
नयाँ फर्म्याट: टिमहरूलाई १२ वटा समूह (Group A देखि L सम्म) मा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष २ टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोली 'राउन्ड अफ ३२' (नकआउट स्टेज) मा प्रवेश गर्नेछन्।
नयाँ टिमहरूको डेब्यु: जोर्डन, उज्बेकिस्तान, केप भर्डे र कुरासाओ जस्ता देशहरूले पहिलो पटक फिफा विश्वकपमा डेब्यु गर्दैछन्।
फाइनल खेल: विश्वकपको बहुप्रतीक्षित फाइनल खेल आगामी १९ जुलाई २०२६ मा अमेरिकाको न्युयोर्क/न्युजर्सी स्टेडियममा खेलाइनेछ।
समयको ठूलो भिन्नता (Time Zone Difference) का कारण नेपाल र दक्षिण एसियाली देशहरूमा विश्वकपका खेलहरू मुख्यतः राति र बिहानको समयमा प्रत्यक्ष प्रसारण हुनेछन्। आज रातिदेखि सुरु हुने खेलहरूसँगै विश्वभर फुटबलको ज्वरो ह्वात्तै बढेको छ।
प्रतिक्रिया