×

शक्तिशाली भूकम्पपछि जापानका केही भागमा देखियो सुनामी

images

काठमाडौँ । रुसको पूर्वी तटमा आएको शक्तिशालि भूकम्पपछि जापानका केही भागमा सुनामी देखिएको छ । जापानको प्रशान्त तटीय क्षेत्रका केही भागमा सुनामी छालहरू पुगेका छन् ।

स्थानीय समय अनुसार बिहान १०:४६ बजे तोकाची बन्दरगाहमा ४० सेन्टिमिटर सुनामी र होक्काइडोको दक्षिणपूर्वी भागमा रहेको एरिमो शहरमा ३० सेन्टिमिटर छाल रेकर्ड गरिएको जापानी मिडिया एनएचकेले उल्लेख गरेको छ । त्यस्तै तोहोकु र कान्तो क्षेत्रहरूमा पनि ती छालहरू देखिएको छ । छालहरू लगभग २० देखि ४० सेन्टिमिटर अग्ला रहेका छन् र अहिलेसम्म ठूलो क्षतिको कुनै रिपोर्ट छैन ।

यसैबीच जापानको उत्तरपूर्वी भागमा रहेको सेन्दाई विमानस्थलको धावनमार्ग बन्द गरिएको छ । यातायात मन्त्रालयले धावनमार्ग बन्द भएको र प्रमुख तटीय केन्द्रका लागि उडान गरिएका केही उडानहरूको रुट परिवर्तन गरिएको बताएको छ भने एयरलाइन्सहरूले ग्राहकहरूलाई आफ्नो वेबसाइटहरू जाँच गरेर अद्यावधिक रहन आग्रह गरिरहेका छन् ।

जापान मौसम विज्ञान एजेन्सीले सुनामी लामो समयसम्म बारम्बार आउन सक्ने चेतावनी दिएको छ भने अहिले देखिएका छाल भन्दा अझै ठुला छाल आउन सक्ने बताएको छ ।

रुसको पूर्वी तटमा रहेको कामचट्का प्रायद्वीप नजिकै ८.८ रेक्टर स्केलको भूकम्प गएपछि जापान र अमेरिकामा सुनामीको चेतावनी दिइएको छ । अमेरिकाको हवाई क्षेत्रमा ठुलो मात्रामा मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणले यो भूकम्प अहिलेसम्मकै छैटौं ठुलो भूकम्प भएको बताएको छ । भूकम्पका कारण रुस, जापान, गुआम, हवाई र अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ ।

 

बुधबार १५ साउन २०८२ १०:०२ AM मा प्रकाशित

प्रतिक्रिया