×

अगस्तमा बलिवुडमा चार सिक्वेल फिल्म रिलिज हुदै

images

काठमाडौँ । बलिवुडमा सैयाराले बक्स अफिस कब्जा गरिरहेको बेला अगस्ट महिनामा एकपछि अर्को गर्दै चार वटा सिक्वेल फिल्म रिलिज हुदैछन् । बलिवुडमा फिल्म विश्लेषकहरुले नयाँ कथाको खडेरी परिरहेको र व्यापार सुनिस्चित गर्न निर्माता र निर्देशकले सिक्वेलको निर्माण गरिरहेको बताइन्छ । अगस्तमा धड्क-२, सन अफ सरदार-२, अन्दाज-२ र वार-२ गरी चार सिक्वेल फिल्म रिलिज हुदैछन् ।

२०१८ मा रिलिज भएको धड्कले बक्सअफिसमा करिब ९० करोड कमाई गरेको थियो । यस फिल्ममा इशान खट्टर र जान्वी कपूर प्रमुख भूमिकामा रहेका थिए । अब यसको सिक्वेल तयार भएको छ । तर धड्क-२ मा भने फिल्म एनीमल फेम तृप्ति डिम्री र सिद्धान्त चतुर्वेदी प्रमुख भूमिकामा रहेका छन् । फिल्म अगस्त १ मा रिलिज हुदैछ ।

त्यसैगरी २०१२ मा बनेको सन अफ सरदारले बक्स अफिसमा करिब १२० करोड कमाई गरेको थियो । अजय देवगन र संजय दत्त अभिनित यो फिल्मको अब सिक्वेल बनेको छ । सन अफ सरदार-२  जुलाई २५ मा रिलिज  हुने भनिएपनि सैयाराको दबदबाबाट बच्न १ अगस्तका लागि सारिएको छ ।

त्यस्तै २०१९ मा रिलिज भएको ऋतिक रोसनको फिल्म वारको पनि सिक्वेल तयार भएको छ । ऋतिक र टाइगर सराफ अभिनित वारले भारतमा ३१८ करोड कमाई गरेको थियो ।  यस पटक वार-२ मा ऋतिक रोशनसँगै जुनियर एनटीआर र कियारा आडवानी रहेका छन् । फिल्मको बजेट ४ सय करोड भन्दा बढी रहेको बताइएको छ र फिल्म अगस्त १४ मा रिलिज हुदैछ ।

त्यस्तै अगस्त महिनामा अन्दाज-२ पनि रिलिज हुदैछ । यसअघि २००३ मा रिलिज भएको अक्षयकुमार, प्रियंका चोपडा र लारा दत्ताको सुपरहिट फिल्म अन्दाजको सिक्वेल पनि अगस्तआमा रिलिज हुदैछ । अन्दाज-२ नयाँ कलाकारलाई लिइएको छ । अन्दाज-२ सिक्वेल नभएर नयाँ कथा भएको भनिएको छ ।  अन्दाज-२ मा आयुष कुमार, अकैसा र नताशा फर्नानडेजले डेभ्यु गर्दैछन् । यो फिल्म अगस्त ८ मा रिलिज हुदैछ ।

बलिवुडमा 'मुन्नाभाई', 'धूम', 'हेरा फेरी', 'कृष' र 'वेलकम' जस्ता फिल्मका सिक्वेलहरूलाई दर्शकले मन पराएका छन् । तर हरेक फिल्मले यो सौभाग्य पाउँदैनन् । सिक्वेल तब मात्र काम गर्छ जब यसको पहिलो किस्ता दर्शकको सम्झनामा गहिरो रूपमा गाडिएको हुन्छ । यदि त्यस्तो कुनै सम्बन्ध छैन भने, फिल्म नाम वा ब्रान्डले मात्र काम गर्दैन । अब अगस्तमा रिलिज हुन यी चार फिल्मलाई पहिलो खतरा त सैयाराको नै देखिन्छ भने आफुलाई फरक र उत्कृष्ट फिल्म बनाएर दर्शकलाई आकर्षित गर्नुपर्ने चुनौती यी चारै फिल्मलाई परेको छ ।

 

बुधबार १५ साउन २०८२ ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया