सिरहा। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिकाका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ। आफन्त र आक्रोशित प्रदर्शनकारीहरूले सडकमै शव राखेर दिनभर राजमार्ग अवरुद्ध गर्दै उग्र प्रदर्शन गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो।
साँझ ढलेपछि बाक्लो संख्यामा परिचालित सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पन्छाउँदै यादवको शव भ्यानमा राखेर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।
दिउँसो घटना हुनेबित्तिकै प्रहरीले शव उठाउन खोजे पनि स्थानीय र आफन्तको चर्को प्रतिरोधका कारण घण्टौँसम्म शव सडकमै रहन पुग्यो। गोली लागेर यादवको सडकमै मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले शवलाई घेरेर राखे। उनीहरूले शवलाई "न्यायको माग" का रूपमा सडकको बीच भागमा राख्दै यातायात पूर्ण रूपमा ठप्प पारेका थिए। स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले गोलबजार र लहान क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।
कर्फ्युको बेला पनि प्रदर्शनकारीहरू सडकमै उत्रिएर ढुङ्गामुढा, टायर बाल्ने र नाराबाजी गर्ने कार्य नरोक्दा प्रहरी सहजै शव नजिक पुग्न सकेको थिएन। प्रदर्शनकारीहरूले गोलबजार र लहानका कयौँ होटल र व्यापारिक प्रतिष्ठानहरूमा तोडफोड गरे। पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएकाले प्रहरीको पहिलो प्राथमिकता थप भौतिक र मानवीय क्षति हुन नदिनु थियो।
सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सल्किएको यो आन्दोलन सिरहा आइपुग्दा दुई समुदाय र प्रहरीबीच त्रिकोणीय झडपमा परिणत भएको थियो। आन्दोलनकारीहरूले सुरक्षाकर्मीलाई नै लक्षित गरी ढुङ्गा प्रहार गरिरहेकाले बल प्रयोग गरेर तत्काल शव उठाउँदा स्थिति झन् भयावह हुने खतरा थियो।
साँझ परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त सुरक्षा बल गोलबजार क्षेत्रमा तैनाथ गरियो। सुरक्षा संयन्त्रले रणनीति परिवर्तन गर्दै भीडलाई अश्रुग्यास र तितरबितर पारेर शवलाई आफ्नो नियन्त्रणमा लिएको हो।
गोलबजारमा गोली चलेको र यादवको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (SSP) भेषराज रिजालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।
शव उठाइए पनि सो क्षेत्रमा अझै तनावपूर्ण शान्ति छ। थप अप्रिय घटना हुन नदिन गोलबजार र आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी र नेपाली सेना समेत परिचालन गरिएको छ।
प्रतिक्रिया