काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको हो। छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको पार्टी सचिव लिलामणि पोरखेलले जानकारी दिए।
बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने र वाइसीएलको महाधिवेशनबारे पनि छलफल भएको बताइएको छ। साथै बैठकले यही साता पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।
बैठकले अरु २० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टी उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। एकताबाट केन्द्रीय सचिव बनेका गंगानारायण श्रेष्ठलाई पार्टी अध्यक्ष प्रचण्ड लगायतले स्वागत गरेका थिए । बैठकमा नेसपाका नेता कार्यकर्ता समायोजन बारे छलफल भएको सचिव श्रेष्ठले जानकारी दिए । ‘आजको बैठकमा पार्टीका नेताहरूको समायोजन बारे कुरा भयो । मैले हाम्रो तर्फबाट निर्णय गर्न केही समय मागेको छु,’ उनले भने ।
प्रतिक्रिया