×

कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ- गृहमन्त्री नारायणकाजी श्रेष्ठ

images

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिन सरकारले सङ्कल्प गरेको बताएका छन् । साथै उनले पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका हुन् । उनले पीडितलाई न्याय दिन नसके यतिका संषर्घ पश्चात् निरकुंशतन्त्रलाई अन्त्य गरेर ल्याइएको गणतन्त्रको औचित्य नहुने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले मिटर ब्याज सामन्तवादी शोषणको नमुना रहेकाले जरैदेखि उखेलेर फाल्ने बताए । आयोगको कार्यालयलाई सामान्य रूपमा नलिन समेत सबैलाई आग्रह गर्दै मिटर ब्याज सम्बन्धी थप अनुसन्धान र छानबिन हुने उनले बताए ।

‘पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार चिन्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।’

गृहमन्त्री श्रेष्ठले घरजग्गा पास गरी पैसा लिइदिएको सन्दर्भमा त्यस्ता सम्पतीनै खारेज गर्ने, अनुचित ब्याज लिएको पाइएमा पैसा नै फिर्ता गर्नुपर्ने सम्मको कानुन ल्याउन लागेको समेत बताए ।

श्रेष्ठले हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे संयोजकत्वमा एक समिति बनाएर आयोग सँगको समन्वयमा समस्या समाधानका लागि पहल भइरहेको बताए । 

आइतबार​ १७ बैशाख २०८० ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया