×

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसदमा सम्बोधन गर्ने

images

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।  सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।

सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए भने उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले आज नै सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिए। नेताहरूका अनुसार साँझ ५ बजे सर्वदलीय बैठक बस्ने तयारी छ । सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ। विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ। बैठकमा सभामुखले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए। उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरे।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ छ। 

आइतबार​ १६ चैत २०८१ १२:२३ PM मा प्रकाशित

प्रतिक्रिया