काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका पूर्णबहादुर खड्काले मंगलबारका लागि देउवा पक्षीय पदाभिकारी तथा सदस्यहरुको बैठक बोलाएका हुन् । राष्ट्रिय सभा र प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने, २०७८ मा भएको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राख्ने र जिल्ला सभापतिहरूको पनि भेला गर्ने गरी देउवा पक्षले तयारी गरेको हो। बैठक धुम्बाराहीको एक होटलमा बस्ने छ ।
निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् । यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए । छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए ।
खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए । आजै उनले २१ फागुनमा निर्वाचित प्रतिनिधिसभाका कांग्रृेस सांसदहरुलाई बधाई दिन धुम्बाराहीको स्मार्ट होटल बोलाएका छन् । पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष अब खुला टकराबमा रूपान्तरित भएको छ, जसले कांग्रेसलाई कांग्रेस विभाजनको संघारमा पुगेको हो। विशेष महाधिवेशनबाट अध्यक्षमा निर्वाचित गगन थापा पक्षले देउवा पक्षका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई कारवाही गर्ने तयारी थालेपछि कांग्रेस औपचारिक रुपमा विभाजनको संघारमा पुगेको हो।
पूर्वगृहमन्त्री लेखक पक्राउ प्रकरणलाई लिएर नेपाली कांग्रेसका दुवै समूहको धारणा फरक-फरक आएको छ। लेखक पक्राउ परेपछि कांग्रेसमा समानान्तर गतिविधि सुरु भएको छ। लेखकलाई पक्राउ गरिएपछि कांग्रेसका तर्फबाट समानान्तर विज्ञप्ति आएका छन्। पार्टीको संस्थापनका तर्फबाट प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेका छन्। लेखक पक्राउपछि जारी विज्ञप्तिमा पक्राउबारे दुई पक्षका फरक-फरक धारणा छन्।
खड्काको विज्ञप्तिमा लेखकको पक्राउको विरोधमा सशक्त आन्दोलन गर्ने उल्लेख छ। त्यसका लागि नेता कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिइएको छ। विज्ञप्तिमा सरकारमाथि ‘जनताको भावनामाथि कुठाराघात’ गरेको आरोपसमेत लगाइएको छ। नेकपा एमाले अध्यक्ष र पूर्वगृहमन्त्री लेखक पक्राउको विरोधमा विज्ञप्ति निकाल्दै खड्काले संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय भएको उल्लेख गरेका थिए।
भविष्यमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न तयार रहन पार्टी पंक्तिलाई अपिल गर्दै खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। आयोगको कार्यादेशबमोजिम भाद्र २३ र २४ गते दुवै दिनको घटनाको छानविन गर्नुपर्नेमा भाद्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमाथि भएको नोक्सानी र संलग्न व्यक्तिहरूबारे बिल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपातपूर्ण भएको प्रष्ट छ।’
विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रक्रियामाथि देउवा पक्षले सुरुदेखि नै प्रश्न उठाउँदै आएको छ। निर्वाचन आयोगसँगको ‘सेटिङ’मार्फत थापा समूहलाई मान्यता दिलाइएको आरोप लगाउँदै खड्काले यस विषयमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। जुन अहिले विचाराधीन छ।
प्रतिक्रिया