×

सरकार र मिटरब्याजी पीडितको वार्ता सकियो, भयो चार निर्णय, साँझ पुनः बस्ने

images

काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ । गृहमन्त्रालयमा भएको वार्तामा आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो माग लिखितरुपमा राखेको गृहमन्त्रालयले जनाएको छ। मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छत ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए । गृह मन्त्रालयमा भएको वार्तामा  आजै साँझ पुनः वार्तामा बस्ने सहमतिसहित चारबुँदे निर्णय भएको हो। 

यस्ता छन् निर्णय  :

१. मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरी लेखिएको ९ (नौ) बुँदे मागसहितको निवेदन समितिका संयोजक श्री मनोज पासवानले सरकारी वार्ता टोलीका संयोजक सहसचिव श्री रुद्रादेवी शर्मालाई बुझाउनुभयो।

२. वार्ताको क्रममा निवेदनमा उल्लेख भएका मागका सम्बन्धमा बृहत् रूपमा छलफल भयो। 


३. सरकारी वार्ता टोलीका तर्फबाट मिटरब्याज पीडितका पक्षमा हालसम्म सरकारबाट भएका प्रयासहरूको बारेमा जानकारी गराइनुका साथै सरकार मिटरब्याज पीडितहरूको मुद्दामा पूर्ण संवेदनशील रहेको र पीडितहरूलाई न्याय प्रदान गर्न कानुनी, नीतिगत तथा व्यावहारिक सबै उपायको खोजी गर्न तत्पर रहेको धारणा व्यक्त गरियो।

४. वार्ताको क्रममा मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालको तर्फबाट यसअघि मिटरब्याज अपराध नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदनसमेत अध्ययन गर्न र अन्य पीडितहरूसँग छलफल गर्न समय माग गर्नुभएकोले आज पुनः साँझ ६ बजे छलफल गर्ने सहमति भयो।

 

बिहीबार १६ चैत २०७९ ०३:०८ PM मा प्रकाशित

प्रतिक्रिया