×

राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष नेपाल

images

काठमाडौँ, १६ माघ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै विद्यमान विसङ्गतिहरूको अन्त्य गर्न सकिन्छ भन्नुभयो ।  

लोकतन्त्रको  विशेषताका रूपमा रहेको समतामूलक र न्यायमूलक समाज स्थापना गरी समाजवादको कार्यभार पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले देशमा निरंकुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि शहीदले जीवनको उत्सर्ग गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि शहीदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्न आर्थिक तथा  सामाजिक रुपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । विज्ञप्तिमा उहाँले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने जनाउँदै समाजमा विधमान वर्गीय शोषण, सबै प्रकारका विभेदको अन्त्य गरी जनताको आर्थिक रुपान्तरण गर्न पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक छ भन्नुभयो । 

मङ्गलबार १६ माघ २०८० ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया