×

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

images

काठमाडौं । तराईवासी नेपालीले ज्यादै महत्वका साथ मनाउने महान् छठपर्वको दोस्रो दिन आज खरना पर्व मनाउँदैछन् । पर्वको पहिलो दिन नहान–खान गरी शुद्ध भई व्रत बस्न सुरु गरेका व्रतालुहरुले दिनभरि भोकै बसेर बेलुकी दूध र सक्खरमा बनाइएको खिर तथा रोटी खाएर खर्ना गरेका छन्, जसलाई रसियाव रोटी पनि भनिन्छ । यस्तै तेश्रो दिन साँझ पख अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिई सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।

चर्मरोगको नाश तथा पारिवारिक सुख, समृद्धिका लागि छठी माताको आराधना गर्दै यो पर्व मनाइने गरिएको छ ।
नेपालको तराई क्षेत्र तथा उत्तरी भारतमा मनाइने छठपर्व धुमधामका साथ मनाइन्छ । निकै कठिन मानिने यो पर्वका चार दिनमध्ये दुई दिन छठ व्रतालुहरुले अन्न–पानी नखाई भोकै बसी व्रत गर्दछन् ।  छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन  व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । 

शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले  कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् । 

यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे । 

षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्‍तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । 

 

शनिबार १२ कात्तिक २०७९ ०९:०२ AM मा प्रकाशित

प्रतिक्रिया