×

सुनसरी घटनापछि रास्वपाको सक्रियता, सिंहदरबारमा शीर्ष नेताहरूको सर्वदलीय बैठक सुरु

images

काठमाडौँ, १३ साउन।  सुनसरीको देवानगन्जमा दुई समुदायबीच उत्पन्न तनाव र पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक कक्षमा बुधबार बिहान ८ बजेदेखि बैठक सुरु भएको हो । 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, र जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका शीर्ष नेताहरू सहभागी छन्।


केही दिनयता सुनसरीको देवानगन्जमा दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो, जसमा एक जनाको मृत्यु हुनुका साथै प्रहरीसहित २२ जना घाइते भएका थिए। मंगलबार साँझ पनि पुनः दुवै पक्ष घरेलु हतियारसहित झडपमा उत्रिएपछि प्रशासनले सुनसरीका विभिन्न १० वटा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

यस्तो संवेदनशील परिस्थितिमा समाजमा विद्वेष र तनाव बढ्न नदिन प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध गर्दै रास्वपाले यो बैठक बोलाएको हो। बैठकमा सहभागी नेताहरूबीच सुनसरीको वस्तुस्थिति, सामाजिक सद्भाव कायम राख्ने उपाय र आगामी रणनीतिका बारेमा गम्भीर छलफल भइरहेको छ।

बुधबार १३ साउन २०८३ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया