हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ । मंगलबार भएको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा १५ जनाले मत दिएका थिए भने उनको विपक्षमा २२ सांसदले मत दिएपछि उनले संसदीय दलको नेताबाट विश्वास गुमाएका हुन् ।
बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद रहेका छन् । योसँगै उनको मुख्यमन्त्री पद पनि गएको छ । अब कांग्रेसबाट प्रदेश सभापति समेत रहेका सांसद इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् । अविश्वास प्रस्ताव पारित भएसँगै अब नयाँ संसदीय दलको नेता चयनको प्रक्रिया शुरु हुने बताइएको छ ।
कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ । यसअघि सोमबार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि मतदानबाट विवाद समाधान गरिदैछ ।
प्रतिक्रिया