×

विद्यार्थी गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, सरकार मुद्दा फिर्ता लिन्छ- अध्यक्ष केपी ओली

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्कृति र सभ्यताको जग बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीमाथिको मुद्दा फिर्ता लिनु दूभाग्यपूर्ण रहेको बताएका छन् । बिहीबार मदन भण्डारी मेमोरियल कलेजले २२औं वार्षीक उत्सवलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्ध मुद्दा फिर्ता लिएकोप्रति आपत्ति जनाएका हुन् ।

‘बडा दुःखद् कुरा हो, हाम्रोजस्तो सभ्यता बसाल्ने देश, गुरू देवो भवः भन्ने देश, गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता लिन्छ। प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भनेर,’उनले भने,‘गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार। मुद्दा फिर्ता लिन्छ।’

उनले त्यस्ता व्यक्ति विद्यार्थीको नाम मात्रका भएका र असली विद्यार्थी पनि नभएको बताए। 'त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्, विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ,’ उनले भने।

सरकारको काम खेदजनक रहेको बताउँदै उनको भनाइ थियो। गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् भएको भनाइ उनले राखे। केही साताअघि त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेको मुद्दा सरकारले फिर्ता लिएको थियो ।
 

बिहीबार १४ असार २०८० १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया