काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दिपक कुमार खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको जनाइएपनि पक्राउको कारण र आरोप सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका खड्काको निवासमा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा पैसा उडेको भन्दै भाइरल भिडियोका बारेमा समेत अनुसन्धान हुने जनाइएको छ ।
पाँच महिनाअघि लैन्चौरस्थित नेपाल स्काउटको हडपेर अहिले पक्राउ परेका खड्काले बनाएको भौतिक संरचना (ब्याङ्क्वेट र होटल) भत्काउन सुधन गुरुङ पनि पुगेका थिए । गत कात्तिकको अन्तिम हप्ताको कुरा हो, गुरुङ लैन्चौरमा रहेको खड्काले बनाएको संरचना भत्काउन काठमाडौं महानगरको डोजर लिएर पुगेका थिए ।
गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गरेर महानगरको डोजर अगाडि बढाउँदै अरु जेन–जीलाई पनि सहभागी हुन आह्वान गरेका थिए । र, त्यही लाइभ भिडियोबाट खड्कालाई कारबाहीको चेतावनी पनि दिएका थिए । गुरुङले अहिले उक्त लाइभ भिडियो हटाएका छन् ।
त्यो लाइभ भिडियोमा सुधनले भनेका थिए, ‘योचाहिँ राज्यको पैसा नतिरेर है, कति वर्षदेखि यो जग्गा कब्जा गरेर बसेको, स्काउटको जग्गा होइन, राजनीतिक पहुँचको आधारमा पैसा नतिरेर बसेर, जग्गा ओगटेर दादागिरि देखाएर अहिलेसम्म हामीलाई दु:ख दिएर हाम्रो पैसा खाएर लुटेर दादागिरि गरेर बसेको आज बल्ल हाम्रो राज्यले न्याय पाएको छ ।’
प्रतिक्रिया