×

महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले चुनाव लड्ने

images

आसन्न स्थानीय तहको निर्वाचनमा महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पुनः त्यही पदमा उम्मेदवारी दिइने भएका छन् ।  दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका प्रमुख तथा अध्यक्षले पुनः स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरिरहेको बताइएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको हो । 

जिल्लाको १५ स्थानीय तहमध्ये छ वटामा लोसपा नेपाल, चारमा (नेकपा माओवादी) केन्द्र, तीनमा नेपाली कांग्रेस र एउटा÷एउटामा नेकपा एमाले एवम् जसपा नेपालका प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचन–२०७४ मा लोसपाबाट जलेश्वर नगरपालिकाका प्रमुखमा रामशङ्कर मिश्र, मटिहानी नगरपालिकाका प्रमुखमा हरिप्रसाद मण्डल, मनरासिस्वा नगरपालिकाका प्रमुखमा  सञ्जयकुमार सिंह, भङ्गहा नगरपालिकाका प्रमुखमा सञ्जीवकुमार साह, एकरडा गाउँपालिकाका अध्यक्षमा रामछविला साह र महोत्तरी गाउँपालिकाका अध्यक्षमा सुनिलकुमार राय निर्वाचित भएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा पनि उनीहरुलाई पार्टीले पुनः उम्मेदवार बनाउने तयारी गरेको लोसपा महोत्तरीले जनाएको छ । 

त्यस्तै स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा माओवादी केन्द्रबाट बर्दिबास नगरपालिका, गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाको प्रमुखमा क्रमशः विदुरकुमार कार्की, शिवनाथ महतो र अशोककुमार मण्डल निर्वाचित भएको थियो । उनीहरु पनि आसन्न स्थानीय तहको निर्वाचनमा सो पार्टीका तर्फबाट पुनः प्रमुख पदमा उम्मेदवारी दिने  तयारी गरेको बताइएको छ । यसैगरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा माओवादी केन्द्रबाट सम्सी गाउँपालिकाका अध्यक्षमा निर्वाचित शेष फारुख अहिले नेकपा एमालेमा प्रवेश गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा उहाँले एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिइने लगभग निश्चित भएको बताइएको छ । 

यसैगरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेपाली कांग्रेसबाट जिल्लाको बलवा, लोहारपट्टी र औरही नगरपालिकाका प्रमुखमा क्रमशः विनोदकुमार यादव, शैलेन्द्र यादव र सुनिलकुमार यादव निर्वाचित हुनुभएको थियो । आसन्न निर्वाचनमा उहाँहरु पुनः सोही पार्टीबाट सोही पदमा उम्मेदवारी दिने तयारी भइरहेको चर्चा छ । त्यस्तै गत निर्वाचनमा जसपा नेपालबाट सोनमा गाउँपालिकाका अध्यक्षमा निर्वाचित राजकुमार यादव र नेकपा एमालेबाट पिपरा गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित विक्रम चौधरीले पनि आसन्न स्थानीय तहको निर्वाचनमा सोही पदमा उम्मेदवारी दिइने बताइएको छ । 

पिपरा गा.पा.मा २०७४ मा लोसपा नेपालकै विनोदकुमार चौधरी निर्वाचित हुनुभएकोमा उहाँको कार्यकाल नसकिँदै मृत्यु भएपछि २०७६ भएको उपनिर्वाचनमा तत्कालीन (नेकपा माओवादी केन्द्र र नेकपा एमाले) मिलेर बनेको नेकपा एकीकृतबाट विक्रम चौधरी निर्वाचित भएका थिए । उहाँ अहिले नेकपा एमालेबाट उम्मेदवार बन्ने चर्चा छ । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता, २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र कायम भएको छ । सबैभन्दा बढी बर्दिबास नगरपालिकामा २८ मतदानस्थल, ५८ मतदान केन्द्र र ४४ हजार ४६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम जिल्लाको महोत्तरी गाउँपालिकामा १२  मतदानस्थल, २२ मतदान केन्द्र र १७ हजार ४३६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिनुभयो । 

मङ्गलबार १५ चैत २०७८ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया