×

कांग्रेसका पूर्वसांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित

images

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने कांग्रेस नेताहरूको कार्यक्रम स्थगित भएको हो । कांग्रेसले एक सूचना जारी गर्दै ‘विशेष कारण’ देखाउँदै सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ, “डेलिगेशन टोली सर्वोच्च अदालत जाने कार्यक्रम तय भएकोमा विशेष कारणले उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ।” सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा दबाब सिर्जना गर्न खोजिएको भन्दै आलोचना बढेपछि र प्रधानन्यायाधीश राउतले समय नदिएपछि सर्वोच्च जाने कार्यक्रम रोकिएको बताइएको छ ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा रहेको टोली आज सर्वोच्च जाने तयारीमा थियो । यसअघि बिहान १०ः३० बजे सर्वोच्च जाने कार्यक्रम तय गरिएको थियो । उनीहरुले प्रधानन्यायाधीश राउतसँग भेटेर संसद् विघटनविरुद्ध परेका रिटहरूको छिटो टुंगो लगाइदिन अनुरोध गर्ने तयारी गरेका थिए ।

कांग्रेसका ६५ जना निवर्तमान सांसदहरूले संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर ती रिटमाथि अहिलेसम्म सुनुवाइ सुरु भएको छैन । संसद् विघटनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका निवर्तमान प्रमुख सचेतक घिमिरेसहितका सांसदहरू र एमालेका सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइपछि अदालतको आदेशअनुसार राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सभामुख देवराज घिमिरे, निर्वाचन आयोग र प्रतिनिधिसभा संसद् सचिवालयले लिखित जवाफ पेस गरिसकेका छन् ।

सर्वोच्चले संसद् विघटनसम्बन्धी दर्ता भएका सबै रिटलाई एकैसाथ राखी सुनुवाइ गर्ने आदेश दिएको छ । ती रिटमा माघ २० गतेको साधारण तारिख तोकिएको छ ।

बिहीबार १६ माघ २०८२ ०९:३६ AM मा प्रकाशित

प्रतिक्रिया