काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) मा महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेभित्र अहिले उकुसमुकुसको अवस्था रहेको र अब ओली अध्यक्षको जिम्मेवारीबाट बाहिरिँदा नै पार्टीको हित हुने बताएका हुन् ।
ओलीले भीम रावललाई प्रतिशोधपूर्ण व्यवहार गरेर पार्टीबाट निकालेको भुसालको बुझाइ छ । ओलीका नजरमा एमालेभित्र उनका शुत्र र चाकर दुईखाले मान्छे रहेको नेता भुसालको टिप्पणी छ । नेता भुसालले पार्टीभित्र रहेर ओलीको चाकरी नगर्ने मान्छेलाई उनले शत्रुको व्यवहार गर्ने गरेको भुसालले बताए । महासचिव भुसालले चाकरी नगरेकै कारण ओलीले रावललाई पार्टीबाट निकालेको दाबी गरे ।
उनले भने, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो । कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । जसले चाकरी गर्दैन । त्यो शत्रु होइन, शत्रु होइन भने त्यसले चाकरी गर्छ । उहाँको आम रूपमा संसारलाई हेर्ने दृष्टिकोण त्यस्तो छ । भीम रावलले चाकरी गरेनन्, यद्यपि त्यहाँ बसेका सबैले चाकरी गर्दछन्, यस्तो पनि नठान्नुस् ।’
उनले थपे, ‘नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ । कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ । उहाँको प्रयोग असफल भएको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो । भीम रावलजीको कुरा रह्यो । उहाँले के गर्नुहुन्छ भन्न सक्दिन । नेपाल पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’
प्रतिक्रिया