×

महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

images

 

चितवन, १२ मङ्सिर : नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन् ।

मङ्सिर ६ गतेबाट सुरु गरिएको ‘चितवन नारायणी महोत्सव’ मा दिनहुँ राष्ट्रिय र स्थानीय कलाकारले कला प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफ्नो कलासँगै दर्शकलाई दुव्र्यसनमा नफस्न र परिवारमा कोही त्यसतर्फ लागेको भए समयमा नै उपचार गर्न सुझाइरहेका छन् । महोत्सवमा शिव परियार, पशुपति शर्मा, आस्था राउत, शान्तिश्री परियार, ज्योति मगर, रमेश प्रसाइँलगायत कलाकारले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउने काम गरिरहनुभएको छ ।

मङ्सिर १६ गतेसम्म सञ्चालन हुने महोत्सव सकिँदै गर्दा ६० जनाभन्दा बढी कलाकारले विभिन्न माध्यमबाट लागुऔषधविरुद्धको सन्देश प्रवाह गरिरहनुभएको छ । महोत्सवको मुख्य आयोजक दुब्र्यनीको उपचार गर्दै आएको रिकभरिङ युनाइटेट प्रालि र आयोजक औद्योगिक शान्ति नेपाल हो । महोत्सवको मुख्य उद्देश्य लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्दै महोत्सवबाट बचेको पैसाले विपन्न परिवारका दुव्र्यसनको निःशुल्क उपचार गर्नु रहेको बताइएको छ ।

मुख्य आयोजक संस्था रिकभरिङ युनाइटेटका संस्थापक अध्यक्ष मनोज घिमिरे लागुऔषध दुव्र्यसन उपचारमा आउन चाहेर पनि पैसाको अभावमा नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले यस कार्यक्रममार्फत् लागुऔषधको लतमा नलाग्न जनचेतना जगाइरहेका छौंँ ।” महोत्सवबाट बचेको रकमले कम्तीमा ३५ जना विपन्न परिवारका दुर्व्यसनीको निःशुल्क उपचार गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “महोत्सवमा रहेको स्टलमा दुव्र्यसनमा फसेका र तिनका परिवारका सदस्यसमेत आएका छन् । उनीहरुले कसरी यसबाट छुटकारा पाउने भन्नेमा बारेमा जानकारी लिएका छन् ।” विज्ञ र पुनःस्थापितले स्टलबाट परामर्श दिइरहनुभएको छ । आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत आफूले देशभर दुई सयभन्दा बढी महोत्सव गरेको भए पनि यस प्रकारको पहिलो महोत्सव गर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो महोत्सवको महत्वलाई बुझेर यही समयमा मकवानपुरमा अर्काे मेलाको मिति पछाडि सारेर यहाँ आएको हुँ ।

” महोत्सवमा आउने अतिथि वक्तादेखि कलाकारसम्म सबैले सचेतना फैल्याउने काम गरिरहेको भन्दै उहाँले कुलतविरुद्ध महोत्सव महत्वपूर्ण रहेको बताउनुभयो । महोत्सव मूलआयोजक समितिका संयोजक पिङ्कलराज पन्त दैनिक पाँच हजारभन्दा बढी दर्शक आइरहेको भन्दै यो महोत्सवमार्फत् चितवनसहित देशैभरी प्रत्यक्ष र सञ्चारमाध्यममार्फत् जनचेतना जगाउने काम भएको बताउनुभयो । पन्तले भन्नुभयो, “कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत् पनि प्रत्यक्ष प्रसारण गरिरहनुभएको छ । यसबाट देश विदेशमासमेत लागुऔषधविरुद्ध सचेतना फैल्याउने काम भएको छ ।” महोत्सवमा एक सय ९६ वटा स्टल छन् ।

महोत्सवमा रु ६० लाख हाराहारी खर्च हुने आयोजकको अनुमान छ । प्रायोजक नराखी महोत्सव गरिएको भन्दै उहाँले स्टल भाडा र टिकटबाट उठेको रकमले महोत्सव सञ्चालन गरिएको बताउनुभयो । उहाँले थप्नुभयो, “सबैको साथ र सहयोगका कारण यो जनचेतनामूलक महोत्सव सोचेभन्दा राम्रो सफलता मिलिरहेको छ ।” रिकभरिङ युनाइटेडका अध्यक्ष रवीनकुमार श्रेष्ठ जिल्लामा १२ हजार हाराहारी सक्रिय लागुऔषध प्रयोगकर्ता रहेको बताउनुहुन्छ ।

उनीहरुको उपचारका लागि जिल्लामा २१ वटा पुनःस्थापना केन्द्र निजी क्षेत्रबाट सञ्चालित छन् । भरतपुर महानगरपालिकाभित्र मात्रै यो सङ्ख्या १५ छ । उपचारपछि निको भएर सामान्य जीवनमा फर्कने जनप्रतिनिधि, ठूला व्यापारी, चिकित्सक, इञ्जिनियर, बैंक प्रबन्धक, शिक्षक जस्ता प्रतिष्ठित व्यक्तिसमेत रहेको उहाँले जानकारी दिनुभयो । आफूलाई अरु भन्दा फरक देखाउन सुरुवाती चरणमा लहैलहैमा यो लतमा फस्ने गरेको उहाँको भनाइ छ ।

आर्थिक सम्पन्न भएर परिवारबाट टढा रहेका, जीवन कुनै लक्ष्य प्राप्त गर्न नसकेका, निराशावादी सोच, असल अभिभावकको कमी जस्ता कारणले कुलतमा फस्ने गरेको श्रेष्ठ बताउनुहुन्छ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा आयोजित महोत्सवले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मङ्गलबार १२ मंसिर २०८० ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया