×

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

images

काठमाडौँ, १४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ ।

‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो ।   “हजारौँ सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी योद्धाको त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ, यी उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै उहाँले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उहाँको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरुप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा गरिरहेको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममा आक्रमण हुँदा पिस्करमा इले थामी र वीरबहादुर थामीलगायतको ज्यान गएको थियो ।  

उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते हुनुभएको थियो । 

पुस्तक लोकार्पण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अमृतकुमार बोहोरालगायतको उपस्थिति थियो । 

शुक्रबार​ १५ असार २०८१ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया