जनकपुर – काग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको राजनीति सही दिशातर्फ उन्मुख नभएको टिप्पणी गरेका छन्। जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि काग्रेस कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने औंल्याएका हुन्।
सिटौलाले राज्य सञ्चालनका प्रमुख अङ्गहरू—न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसद् लगायतका गतिविधिहरू सन्तोषजनक नरहेको औँल्याए। कांग्रेसको इतिहास स्मरण गर्दै नेता सिटौलाले वि.स.२००७ सालको क्रान्तिमा तराई क्षेत्र, विशेष गरी विराटनगर, जनकपुर र वीरगन्जले खेलेको नेतृत्वदायी भुमिकाको चर्चा गरे।
तराईकै क्रान्तिको बलमा नेपालमा प्रजातन्त्रको उदय भएको र जनताले ‘रैती’ बाट ‘नागरिक’ को पहिचान पाएको सिटौलाको भनाइ छ।
‘अहिले देशको राजनीतिक वृत्तको सूक्ष्म अवलोकन गर्ने हो भने नेपालको राजनीति ठिक ढङ्गले अगाडि बढिरहेको छैन । त्यसैले संविधान र लोकतन्त्र जोगाउन कांग्रेस कार्यकर्ताहरूले पुनः एकीकृत भएर नयाँ मार्गचित्र (रोडम्याप) निर्माण गर्नुपर्ने आवश्यकता छ, सिटौलाले अगाडि भने, ‘तत्कालीन नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि गरेको त्याग नै आज हाम्रो प्रेरणाको स्रोत हो । संविधान संशोधन हुनसक्छ तर यसको समावेशी र समानुपातिक चरित्रलाई अझ सुदृढ बनाइनुपर्छ ।’
संविधानको रक्षा र संशोधनका विषयमा सिटौलाले संविधानको मूल चरित्र र समानुपातिक समावेशी सिद्धान्तलाई कुनैपनि हालतमा कमजोर पार्न नहुनेमा जोड दिए।
प्रतिक्रिया