सुन्दरहरैँचा (मोरङ), १५ चैत : मोरङको विराटनगरस्थित सहिद रङ्गशालामा आजदेखि आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु भएको छ ।
प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले उद्घाटन खेलमा आमन्त्रित टोली आरटीसी फुटबल क्लब थिम्पु भुटान तथा विभागीय टोली नेपाल पुलिसबीच भिड्ने तय भएको जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि आयोजकका तर्फबाट साङ्ग्रिला मोरङ फुटबल एशोसिएसनसहित नेपाल, भारत र भुटानका १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भारतका दुई आमन्त्रित क्लब साउथर्न समिति फुटबल सङ्घ कोलकाता र सिक्किम ड्रागन फुटबल क्लब खेल्दैछन् ।
पुलिससहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन् । त्यसबाहेक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फुटबल क्लबबीचको प्रतिस्पर्धाले दर्शकलाई पूर्ण रूपमा खेल मनोरञ्जन दिने अध्यक्ष शाहीले बताउनुभयो ।
प्रतियोगिताको विजेताले रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले रु २१ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।
प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले रु २५ लाख दिने प्रतिबद्धता जनाएको बताइएको छ । त्यस्तै विराटनगर महानगरपालिकाबाट रु १२ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख प्राप्त हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु एक करोड १८ लाख ४३ हजार दुई सय अनुमानित खर्च लाग्ने जनाइएको छ । टिकटबाट न्यूनतम रु ५० लाख उठ्ने ट्रष्टको दाबी छ । आजबाट सुरु हुने रात्रिकालीन विराट गोल्डकप यही चैत २४ गते समापन हुनेछ ।
–––
प्रतिक्रिया