×

गगन चुनावी गठबन्धनको विपक्षमा, विश्वप्रकाश पक्षमा

images

नेपाली कांग्रेसका दुईजना महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच माओवादी केन्द्रसहितको चुनावी गठबन्धनलाई लिएर मत बाझिएको छ।


तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री थापाले आफूलाई गठबन्धनको विपक्षमा उभ्याएका छन्।

'म चुनावी गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन', उनले बैठकमा भने, 'देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी?'

महामन्त्री थापाले अहिले माओवादी केन्द्रको हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्हमा भोट हालेको कांग्रेस कार्यकर्ताले भविष्यमा रुखमा भोट नहाल्ने पनि बताए।

‘अहिले रूख बाहेकमा भोट हाल्न लगाउने हो भने उनीहरुले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?,’ उनले प्रश्न गर्दै भने ‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’

बैठकमा सभापति शेरबहादुर देउवाले भने ७४ सालको संसदीय चुनावमा आफूले बालबाल जितेको भन्दै अहिले गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

तर अर्का महामन्त्री शर्माले भने चुनावी तालमेल आवश्यक रहेको बताउँदै सभापति शेरबहादुर देउवाको पक्षमा आफूलाई उभ्याए। महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नु पर्ने बताए ।

कांग्रेस केन्द्रीय समिति बैठकमा शर्माले कुनै ठाउँमा नेपाली कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको भन्दै आवश्यकता हेरेर गठबन्धन गर्नु पर्ने बताए ।

उनले विगतमा नेपाली कांग्रेसले पाप्त गरेको मत र अन्यले प्राप्त गरेको मतको तथ्यांक पनि पेश गर्दै 'विगतको नतिजाको पनि विश्लेषणका आधारमा उनले तालमेल आवश्यक रहेको कुरा राखेको बताईएको छ्। 

सोमबार १४ चैत २०७८ ०५:०९ PM मा प्रकाशित

प्रतिक्रिया