×

विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक रहेको : मन्त्रालय

images

काठमाडौं । विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक रहेको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आगामी आइतबारसम्म नवीकरण हुने मन्त्रालयको भनाई छ ।

नेपालले भारतको इनर्जी एक्सचेञ्ज लिमिटेडसँग सम्झौता गरेर खुला बजारमार्फत विद्युत किनबेच गर्दै आएको छ । इनर्जी एक्सचेञ्ज लिमिटेडसँगको सम्झौता यहि मार्च अन्तिममा सकिँदैछ । हिउँद लागेसँगै विद्युत उत्पादन कम हुने तथा भारतसँग विद्युत आयातसम्बन्धी सम्झौता नवीकरण नभएको भन्दै लोडसेडिङ बढ्ने खतरा बढेको चर्चा चल्न थालेकोमा मन्त्रालयलले उक्त चर्चालाई हल्ला मात्र, निराधार भएको जनाएको छ । सम्झौता नवीकरण गर्न भारत सरकार सकारात्मक रहेकाले लोडसेडिङको समस्या नआउने उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ ।

नेपालले भारतसँग पाँच वर्षका लागि सम्झौता गरेर विद्युत आयात गर्दै आएको छ । यो सम्झौता हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले सम्झौताका लागि तीन महिना अघि नै प्रक्रिया सुरु गरिसकेको थियो । मंगलबार मात्रै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जा सचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गरेका थिए । जवाफमा भारतले निर्वाचनका कारण ढिलाई भएको भन्दै छिट्टै नवीकरण गरिदिने जानकारी दिएको मन्त्रालयको भनाई छ ।

हिउँद तथा सुख्खा मौसममा विद्युतको उत्पादन कम हुने भएकाले आपूर्ति सहज बनाउन भारतबाट करिब ४० प्रतिशत विद्युत आयात गरिँदै आएको छ । विद्युत् प्राधिकरणको तथ्याङ्क अनुसार अहिले नेपालमा १ हजार ८ सय ८५ मेगावाट विद्युतको माग छ । नेपालले १ सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६ रुपैयाँ १८ पैसा र ३३ केभीको प्रसारण लाइनमार्फत ६ रुपैयाँ ६५ पैसामा विद्युत आयात गरिरहेको छ ।

बिहीबार १५ चैत २०८० ०४:५९ PM मा प्रकाशित

प्रतिक्रिया