काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
शुक्रबार मात्रै नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको थियो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो । शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया