×

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

images

दमौली (तनहुँ), १५ चैत ः बजेट अभावका कारण  तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । 

    भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन भवन निर्माण थालिए पनि पर्याप्त बजेट नहुँदा  काम रोकिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले राससलाई बताउनुभयो । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माण थालिएको थियो । 

     हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्र भएको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ । 
    
    भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा काम पूरा नभएकाले पुनः २०८१ साल असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताउनुभयो । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या भएकाले त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

बिहीबार १५ चैत २०८० ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया