×

ला लिगा फुटबलमा बार्सिलोना पराजित

images


काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको बार्सिलोना गएराति भएको खेलमा भिल्लारियलसँग ५-३ गोलअन्तरले स्तब्ध भएको हो । खेलमा सुरुवाती अग्रता पनि भिल्लारियलले नै लिएको थियो । खेलको ४१औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै खेलको ७१औँ मिनेटसम्म ३-२ गोलको अग्रता लिए पनि त्यसलाई जोगाइराख्न भने सकेन । खेलको ५४औँ मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए । तर, खेलको ६०औँ मिनेटमा बार्सिलोनाका लागि इल्के गुन्डोगनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसको ६ मिनेटपछि खेलको ६८औँ मिनेटमा पेड्रीले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ७१औँ मिनेटमा भिल्लारियलका इरिक बेल्लीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता लिएको थियो । तर, त्यसलाई टिकाइराख्न भने सकेन । खेलको ८४औँ मिनेटमा भिल्लारियलका लागि गोनकालो गिउडेसले गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याए । इन्जुरी समयको ९औँ मिनेटमा एलेक्सजेन्डर सोर्लोथले गोल गर्दै भिल्लारियललाई ४-३ गोलअन्तरको अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेपछि खेल भिल्लारियलले ५-३ गोलअन्तरले जित्यो ।

भिल्लारियलसँग पराजित भएको बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ५४ अंक जोडेको रियल मड्रिड लिगको शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको जिरोनाको ५२ अंक छ । बार्सिलोनालाई हराएको भिल्लारियल भने २२ खेलबाट २३ अंकका साथ लिगको १४औँ स्थानमा छ ।
 

आइतबार​ १४ माघ २०८० ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया