मोरङ । ‘नो केबलकार समूह’ ले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन् । सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेन रहेका छन्।
मंगलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार मादेन सोमबार भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् । सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली दुई जनालाई लगेको थियो ।
प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको छ । बन्दका कारण चारपाङ्ग्रे सवारी साधन चलेका छैनन् । बजार र विद्यालय र कलकारखाना खुला रहेको डिएसपी रावलले जानकारी दिए । बन्द आह्वान भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको उनले बताए ।
आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ । यता तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मूलघाट हुँदै धनकुटाको भेडेटार भएर धरान र चतरा जोडिन्छ ।
मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नु पर्ने लगायतका माग राखेका छन् ।
प्रतिक्रिया