×

आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई प्रचण्डको आग्रह

images

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट एकताबाट टाढा रहँदा पछि पश्चाताप हुने चेतावनी दिँदै आत्मसमिक्षासहित एकतामा आउन आग्रह गरेका हुन्।

उनले समाजवादी मोर्चामा रहँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेन–जी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्यौलमा परेको दाबी गरे। राष्ट्र असाधारण परिस्थितिमा रहेकाले कुनै आवेगमा नभई कम्युनिष्ट आन्दोलनका घटकहरूलाई एकताबद्ध गरेर शक्ति आर्जन गर्ने प्रयास गरिएको तर विप्लवले त्यो अवसर गुमाएको प्रचण्डको भनाइ थियो।

प्रचण्डले विप्लवप्रति कुनै आक्रोश नरहेको उल्लेख गर्दै अझै पनि आत्मसमिक्षासहित आए स्वागत गर्न तयार रहेको स्पष्ट पारे। देश अहिले असहज अवस्थामा रहेकाले एकताबद्ध भई देशव्यापी अभियानमा जान नसके मुलुक अर्को दुर्घटनातर्फ जान सक्ने भन्दै उनले कम्युनिष्ट एकताको आवश्यकता औँल्याए।

कार्यक्रममा प्रचण्डले अन्य कम्युनिष्ट घटकहरूलाई पनि एकतामा सामेल हुन आह्वान गरे। सो अवसरमा विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालसहितका नेताहरू नेकपामा प्रवेश गरेका थिए। 

जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ । जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागेको उनले बताइ । आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै प्रचण्डले विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए ।

उनले भने, ‘विप्लव जी लाई अलि बढी महत्व दिने गरेका थियौं। तर जेनजी आन्दोलनपछि विप्लव नेतृत्व बढी नै भड्किनु भयो। धेरै नै विचलित हुनुभयो। ठूलो भूमरीमा फस्नुभयो। विप्लवसँग हाम्रो कुनै घृणा आक्रोस छैन। तर सँगै बसेको कमरेडको नाताले पनि म भन्न चाहन्छु तपाईंले आत्मसमिक्षा गर्ने यो बेला हो। अझै सबै गुमिसकेको छैन, आत्मसमिक्षा गरेर एकतामा आउनु भयो भने हामी तयार छौं। देश असहज परस्थितीमा छ। हामी एकतावद्ध भएर देशव्यापी अभियानमा गएनौं भने देश अर्को दुर्घटनातिर जान सक्छ।’

बुधबार १५ माघ २०८२ ०१:३७ PM मा प्रकाशित

प्रतिक्रिया