×

प्रथम बनेपा मेयर कप तेक्वान्दो आइटिएफ च्याम्पियनसिप’ काभ्रे एकेडेमीलाई

images


धुलिखेल, १४ माघ : बनेपामा आयोजित ‘प्रथम बनेपा मेयर कप तेक्वान्दो आइटिएफ च्याम्पियसिप’ आयोजक संस्था काभ्रे तेक्वान्दो आइटिएफ एकेडेमीले हात पार्न सफल भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त च्याम्पियनसिपमा आयोजक संस्था १४ स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित प्रथम भएको हो । 

    सो प्रतियोगितामा धुलिखेल तेक्वान्दो आइटिएफ डोजाङ दस स्वर्ण, छ रजत र तीन कास्य पदकसहित दोस्रो र बनेपा तेक्वान्दो आईटिएफ डोजाङ पाँच स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित तेस्रो भएका छन् । प्रतियोगितामा विजयी खेलाडी र समूहलाई बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नगर उपप्रमुख विमला सापकोटा दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाले सिल्ड, पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    नगर प्रमुख शाक्यले स्वस्थ र अनुशासित बन्नका लागि हरेक व्यक्तिले खेल खेल्नु आवश्यक रहेको बताउनुभयो । 

    उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख गर्दै उहाँले  खेलेर के पाउँछ भन्ने बुझाइमा रहेका आम अभिभावकलाई उत्कृष्ट खेलाडीले छात्रवृत्ति पनि पाउन सक्छन् भन्ने उदाहरण बनेपा नगरपालिकाले दिने बताउनुभयो । 

    उपप्रमुख दाहालले खेल विशेष गरी महिलालाई आत्मरक्षाका लागि आवश्यक भएकाले सम्पूर्ण महिलालाई खेलक्षेत्रमा लाग्न आग्रह गर्नुभयो । 

    नेपाल आइटिएफ तेक्वान्दो महासङ्घका केन्द्रीय अध्यक्ष प्रवीण कार्कीले आईटिएफ तेक्वान्दोको विकासका लागि संस्थागत रुपमा लागिरहेको बताउनुभयो । खुला आकाशमुनि धेरै दुःख गरेर खेलाडी उत्पादन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न काभ्रेले योगदान पुर्‍याएकामा उहाँले आभार व्यक्त गर्नुभयो ।

    आयोजक एकेडेमीका संस्थापक अध्यक्ष राजमन्दिर श्रेष्ठले तेक्वान्दो आइटिएफको विकास र आम खेलाडीको विकासका लागि आफूहरू निरन्तर लागिरहेको बताउनुभयो ।

आइतबार​ १४ माघ २०८० ०४:२५ PM मा प्रकाशित

प्रतिक्रिया