×

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

images

 

भादगाउँ (भक्तपुर), ११ मङ्सिर : कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै ‘सकिमना पुन्ही’ अर्थात पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछन् । यो पुन्ही नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरुले पर्वको रुपमा मनाउने गर्दछन् ।

कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रुपमा आज पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय)बाट भगवानका आकृति बनाइ त्यसलाई प्रसादको रुपमा बाँड्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

यस दिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर तथा भगवानको आकृति बनाउँछन् । आकृति बनाउँदा गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानको स्वरुप बनाइने उहाँले बताउनुभयो । “उक्त स्वरुपलाई चारैतिर भुटेको मकैले घेरा बनाउँछन् र त्यसमाथि पुरी र माल्पुवाले घेरेर फुलको मालाले शुङ्गारपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गाउने गर्छन्”, श्रेष्ठले भन्नुभयो ।

कोजाग्रत पूर्णिमाको दिनदेखि दैनिक रुपमा हुने भजनकीर्तन आज समापन हुने भएकाले नेवार समुदायका प्रत्येक घरमा एक÷एक जना व्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पूजा गर्दछन् । पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्डलगायत परिकार टोलका देवीदेवता, महादेव र नारायणलाई प्रसादका रुपमा चढाउने परम्परा रहेको श्रेष्ठले बताउनुभयो ।

“यसरी पूजा चढाउँदा प्रसादका रुपमा मन्दिरबाट नसाः लिएर आउने गर्छन्”, उहाँले भन्नुभयो, “साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुल्सीलाई गाईको दूधको अध्र्य दिई विधिवत रुपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ ।” मन्दिरबाट ल्याइएको प्रसादस्वरुप नसाः राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, माल्पुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा रहको छ ।

ऋतु अनुसारको भोजन भगवानलाई चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिएको संस्कृतिविद प्रा डा श्रेष्ठको भनाइ थियो । आज विषेशगरी नारायणको पुजाआराधना गरिने हुनाले नेपाल संवत्को बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

सोमबार ११ मंसिर २०८० ०३:१२ PM मा प्रकाशित

प्रतिक्रिया