काठमाडौँ — अघिल्लो कारोबार दिन सामान्य सुधार आएको सेयर बजार साताको दोस्रो दिन सोमबार पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २,७०१ बिन्दुमा झरेको छ।
आइतबार ७.९० अंकले बढेर बन्द भएको बजार सोमबार कारोबारको सुरुवाती समयमा बढेर १२:१३ बजेसम्म २,७४४ बिन्दुसम्म पुगेको थियो। तर, त्यसपछि लगातार बिक्री चाप बढेपछि अन्तिम समयमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको हो।
परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको छ। सोमबार ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा उच्च हो। आइतबार ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। सोमबार बैंकिङ बाहेकका अन्य सबै उपसमूहका सूचक घटेका छन्। बैंकिङ उपसमूह ०.१० प्रतिशतले मात्र बढेको छ।
उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी २.३० प्रतिशतले घटेको छ। त्यसैगरी व्यापार २.२३, होटल तथा पर्यटन २.२२, जलविद्युत् १.९० र विकास बैंक १.८२ प्रतिशतले ओरालो लागेका छन्।
दिनभरिको कारोबारमा जम्मा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको घटेको छ। ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
हालै सूचीकृत भएको एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यस्तै गोर्खाज फाइनान्स र धौलागिरि लघुवित्तका सेयरधनीले पनि कमाएका छन्। धेरै गुमाउने: आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी १३.३८ प्रतिशतले घटेको छ। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक र कालंगा हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाएका छन्।
रकमका आधारमा सोमबार रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहेका छन्।
प्रतिक्रिया