काठमाडौँ। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीचको झडप र प्रहरीको गोली प्रहारबाट एक युवकको मृत्यु भएपछि बिग्रँदै गएको सुरक्षा परिस्थितिलाई नियन्त्रणमा लिन हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको छ।
सोमबार बिहान दुई पक्षबीच चर्किएको विवादले उग्र रूप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो। गोली लागेर स्थानीय एक युवकको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका थिए। घटनापछि स्थानीय बासिन्दा आन्दोलित बन्दै सडकमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कप्तानगञ्जसहित आसपासका पाँच संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु आदेशका बाबजुद प्रदर्शनकारीहरूले कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन जारी राखेपछि र स्थिति थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनको सिफारिसमा नेपाली सेना परिचालन गरिएको हो।
हतियारसहित मैदानमा उत्रिएको सेनाको टोलीले कप्तानगञ्जका मुख्य चोक तथा संवेदनशील क्षेत्रहरूमा गस्ती बढाएको छ। सेना र थप नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयलाई घरभित्रै रहन र शान्ति सुव्यवस्था कायम राख्न अपिल गरिरहेका छन्।
प्रशासनले हिंसात्मक गतिविधि नगर्न र संयमता अपनाउन सम्पूर्ण सर्वसाधारणलाई आग्रह गरेको छ भने कर्फ्यु क्षेत्रमा अनावश्यक आवागमन नगर्न चेतावनी दिएको छ।
प्रतिक्रिया