×

स्वास्थ्य मन्त्री बस्नेत ‘माफियाको नाइके’- डा. केसी

images

काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै केसीले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् साथै पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।

‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा. केसीले भनेका छन्, आफूमाथि स्वास्थ्य मन्त्रीले 'घोर आपत्तिजनक अभिव्यक्ति' दिएको डा. केसीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' जीका स्वास्थ्य मन्त्री माफीयाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बरखिलाफ हो, निजलाई तत्काल पदमुक्त गरियोस्,’ डा. केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ। ‘स्वास्थ्यमन्त्रीको पद सम्हालेदेखि नै माफियाहरुको पक्षमा नग्न रुपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्’, डा.केसीले भनेका छन् ।

यस्तै, स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव नभएको र उनले जान्ने प्रयास समेत नगरेको आरोप डा.केसीको छ । केसीलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गरेको आरोप लगाउँदै केसीले भनेका छन्, ‘यो राजनीतिक तथा सामाजिक अपराध हो ।’ गुणस्तरिय, नि:शुल्क, सस्तो, सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न र सुशासनका लागि आफू संघर्षरत रहेको डा. केसीले बताएका छन्।

सिटिइभिटी अन्तर्गत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर सञ्चालन गरेका नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कलेज तथा शिक्षालयलाई सम्बन्धन र सञ्चालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, संसदको स्वास्थ्य तथा शिक्षा समितिका सांसद र माफिया तथ्यहिन हल्ला फैलाएर दबाब सिर्जना गर्न लागिपरेको उनको भनाइ छ।

आइतबार​ १० मंसिर २०८० ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया