विराटनगर । भारतको जोगवनी बजार तनावग्रस्त बनेपछि सीमा नाकाबाट नेपाली नागरिकलाई प्रवेश रोकिएको छ । दुई पक्षबीच विवाद बढेर झडप भएपछि जोगवनीमा तनाव भएको बताइएको छ ।
साप्रदायिक दंगा हुनसक्ने भन्दै सीमाबाट नेपालीको प्रवेश बन्द गरिएको छ । नेपालीको किनमेल गर्ने मुख्य बजार जोगवनी चाडपर्व बाहेक अन्य समयमा पनि दैनिक किनमेल गर्न ठुलो संख्यामा जाने गर्दछन् ।
अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको र विराटनगरको रानी नाकामा सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।
सुरक्षाकर्मीले जोगवनी जान लागेका नेपालीहरुलाई सीमा क्षेत्रमै रोकेका छन् । बिहान करिब ११ बजेदेखि सुरु भएको तनाव पछिल्लो समय उग्र बन्दै गएको बताइएको छ । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको र मुस्लिम र हिन्दु समुदायका युवाबीच दोहोरो झडप भएको सीमामा तैनाथ एक प्रहरीले जानकारी दिएका छन् ।
भारतीय सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । परिस्थिति नियन्त्रण बाहिर गएर दंग भड्किने सम्भावना बढेको बताइएको छ । भारतीय अधिकारीहरुले दुवै पक्षलाई संयम हुन आग्रह गर्दै वार्ताका लागि आह्वान गरेका छन् ।
प्रतिक्रिया