×

अघी नबढने भो सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा

images

काठमाडौं । गौशाला–२६ ले अब सर्वोच्च अदालतमा अपिल नगर्ने भएकी छन् । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई एक होटलमा लगेर बलात्कार गरेको भनी मुद्दा हालेकी गौशाला–२६ उच्च अदालत पाटनको फैसलापछि हच्किएको बताइएको छ ।

गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ दिने गरी गरेको फैसालविरुद्ध सर्वोच्च नजाने भन्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी छन् । यो कुराको उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्यायाधिवक्ता एवम् प्रवक्ता धर्मअवतार कोइरालाले गौशाला–२६ को एउटा निवेदन आएको पुष्टि गर्दै भने, “ ‘गौशाला–२६ को तर्फबाट एउटा निवेदन आइपुगेको छ । जसमा उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च नजाने व्यहोरा उल्लेख गरिएको छ ।’ 

उच्च अदालत पाटनले होटलमा बस्न पीडित (गौशाला २६) को सहमति रहेको र उनले आवेगमा जाहेरी दिएको ठहर गर्दै बलात्कार मुद्दाबाट क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको थियो।  

न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसूरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन।

बलात्कारको अभियोगबाट क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिँदा होटलमा बस्न पीडितको सहमति, उनले कसैलाई पठाएको मेसेज, सन्दीपका साक्षी र होटलका स्टाफको बयानलाई आधार लिएको छ। 

पीडितको बयान तथा स्वास्थ्य जाँच प्रतिवेदन भने स्वतन्त्र प्रमाणले पुष्टि नहुने इजलासले बताएको छ। पीडितले ‘सन्दीप लामिछानेसँग केही दिनअघि आफूले अंकमाल गरेको’ भन्दै खुसी भएको इमोजीसहित कसैलाई पठाएको म्यासेजलाई पनि अदालतले बलात्कार नभएको प्रमाण मानेको छ। 

शुक्रबार​ ११ साउन २०८१ ०३:०८ PM मा प्रकाशित

प्रतिक्रिया