×

नागरिकता विधेयक अघि बढाउन सांसदको माग

images

प्रतिनिधिसभाका सांसदहरुले संसद्मा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट नागरिक बञ्चित भएको भन्दै उनीहरुलाई राज्यको नागरिक भएको आभास दिलाउन विधेयकको किनारा लगाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद इन्दुकुमारी शर्माले संसद्मा लामो समयदेखि विचाराधीन रहेको नेपाल नागरिकता ऐनसम्बन्धी विधेयक पारित नहुँदा राज्यले दिने शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण सुविधाबाट बञ्चित भएको भन्दै छिटोभन्दा छिटो पारित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।उहाँले संविधान राज्य सञ्चालन गर्ने मूल कानून भएको र यसले सुनिश्चित गरेको नागरिकता प्राप्त गर्ने जन्मसिद्ध अधिकारको सुनिश्चितताका लागि नागरिकता विधेयक टुङ्गो लगाइनुपर्नेमा जोड दिनुभयो ।

उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गर्न माग

सांसद अमृता थापाले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गरी सङ्घीय संसद्लाई चाँडो पूर्णता दिन माग गर्नुभयो । उहाँले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको महिला अधिकार कार्यान्वयन हुन नसक्दा नेतृत्व निर्माणमा गम्भीर असर पुगेको बताउनुभयो । प्रतिनिधिसभाको उपसभामुख पद विसं २०७६ माघ ६ गतेदेखि रिक्त रहेको छ भने २०७८ फागुन २० देखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।

सांसद कलिला खातुनले पेट्रोल र डिजेटको मूल्य घटाएकामा सरकारलाई धन्यवाद दिँदै काठमाडौँका कतिपय स्थानमा हैजा फैलिएको भनी आएको विषयमा नियन्त्रणका लागि पहल गर्न आग्रह गर्नुभयो । सांसद कुमारी मेचेले आफ्नो क्षेत्रमा बजेट माग्दा पनि नपाएको गुनासो गर्दै झापाको चाराली खानेपानीको व्यवस्थापन, बालबालिकाले विद्यालयमा पुस्तक नपाएकोलगायत विषयमा सरकारले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
 
सांसद आशाकुमारी विकले कात्तिक ३० गते आएको वर्षाले बझाङका एक हजार १०० परिवार विस्थापित भएका र पीडितले अझै पूर्णरुपमा राहत नपाएको भन्दै मनसुन सुरु भएकाले विपद् व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले २०७९ जेठ १४ गते अर्थ मन्त्रालयमा बजेट निर्माणको समयमा अनाधिकृत व्यक्ति सहभागी भएको फुटेज सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ क्षेत्र नं ३ स्थित गोकर्णेश्वर क्षेत्रमा मेलम्चीको खानेपानी पाइपलाइन विस्तार गर्न ढिलाइ भएको साथै जोरपाटी, नयाँपार्टी, सुन्दरीजल, गोकर्ण, बौद्धलगायत क्षेत्रमा पाइपलाइन विस्तार नभएकाले चाँडो सम्पन्न गर्न आग्रह गर्नुभयो ।  उहाँले गुह्ेश्वरीदेखि गोकर्णेश्वरसम्मको वाग्मती करिडोरको बाटो चाँडो कालोपत्र गर्न सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि भइरहेको पूर्वतयारीबारे सरकारले गरिरहेको तयारीको संसद्मा जानकारी गराउन र अनुगमनमा सामेल गराउन माग गर्नुभयो । उहाँले नारायणगढ–मुग्लिन सडकखण्डको दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभयो । सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशको महाअभियोगको प्रस्ताव आजै समितिमा लैजान आग्रह गर्नुभयो ।

उहाँले पोखराको हेम्जालगायतका स्थानमा भारी वर्षापछि आएको बाढीबाट पीडित जनताको उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्नुभयो । सांसद खेमप्रसाद लोहोनीले पेट्रोलियम पदार्थको अस्वभाविक मूल्यवृद्धिले सम्पूर्ण उपभोग्य वस्तुको मूल्य बढेकाले जनतालाई समस्या परेको भन्दै यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गणेशसिंह ठगुन्नाले दैनिक उपभोग्य वस्तुको महँगीले सर्वसाधारणलाई मर्का परेको भन्दै उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद गङ्गा चौधरीले बलात्कारको मुद्दालाई कमजोर बनाउन जिम्मेवार निकायबाट भएको कदमको भत्र्सना गर्दै त्यस कार्यमा संलग्नलाई कारबाहीको माग गर्नुभयो ।

सांसद घनश्याम खतिवडाले अत्यधिक वर्षाले देशभर बाढीपहिरो, डुबानका घटना बढिरहेकाले त्यसको मारमा जनता परेका र महँगी बढेको तथा शेयरबजार घटिरहेको यस विषयमा सरकारको व्यवस्थापकीय तयारी के छ भनी प्रश्न गर्नुभयो । सांसद जिवछिरिङ लामाले शून्य समयमा उठेका सवालको कार्यान्वयन हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद झपटबहादुर रावलले करिब ३० वर्षअघि निर्माण गरिएको सुदूरपश्चिमको कैलालीस्थित सिङ्गल टावर केवलस्टेट मोटर पुलको मर्मतसम्भार गरी रात्रिकालीन बत्ती व्यवस्थापन गर्न माग गर्नुभयो ।

आइतबार​ १२ असार २०७९ ०३:४२ PM मा प्रकाशित

प्रतिक्रिया