×

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

images

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । 

गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टेटस सार्वजनिक भएको थियो । 

 उक्त स्टेटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टेटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ । 

 जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ । उहाँले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । 

“घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ”, मैनालीले रासससँग भन्नुभयो । गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ । त्यसैले अहिले घटनामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलेसमेत अनुसन्धान थालेको छ । 

 सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिबार बिहान काठमाडौँको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाव दिन थालेका छन् । उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानविनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिनुभयो । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताउनुभयो । 

 प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पु¥याएको छ । “न्यायपूर्ण ढङ्गले छानबिन होस् र दोषीलाई कारवाही होस् भनेर नै हामी प्रहरीमा आइपुगेका हौँ”, बिजीले भन्नुभयो । 

 गायिका सुनारको स्टेटसमा आफैँले घटना घटाएकाले कसैलाई दोष नदिन भनिए पनि त्यो दबावमा लेखिएको वा अरुले नै लेखिदिएको हुनसक्ने आशङ्का गरिएको छ । अध्यक्ष बिजीले भन्नुभयो, “मोबाइल नभेटिएकाले मृत्युपछि स्टेटस अरुले नै लेखेको पनि हुनसक्छ या मृत्यु अघि धम्क्याएर लेख्न लगाएको पनि हुनसक्छ त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ ।” 

 सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका हुनुहुन्थ्यो । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समय अघि काठमाडौँमा आयोजना गरेको छैठौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित हुनुभएको थियो । गायिका सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य हुनुहुन्थ्यो । 

आइतबार​ १२ असार २०७९ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया