काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह एक साताभित्र संसद्मा उपस्थित हुने जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै मुख्य सचेतक बुर्लाकोटीले प्रतिपक्षी दलहरूले उठाउँदै आएको मागबमोजिम प्रधानमन्त्री सदनमा उपस्थित हुन लागेको स्पष्ट पारे।
‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ’, उनले भनेका छन्, ‘प्रधानमन्त्री ज्यू सदनमा आउनुहुन्छ । सम्मभवत एक हव्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु ।’ विपक्षी दलहरूले विगत केही समयदेखि संसद्मा प्रधानमन्त्री शाहको उपस्थिति र समसामयिक विषयमा उनको जवाफ माग गर्दै निरन्तर दबाब दिँदै आएका थिए।
सचेतक बुर्लाकोटीको भनाइलगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले सत्तापक्षको प्रस्तुतिप्रति कडा आपत्ति जनाइन्। कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारी अनुरूप सत्तापक्ष संसदमा प्रस्तुत नभएको आरोप लगाउँदै उनले सदन सरकारको भजन गाउने वा प्रशंसा गर्ने थलो मात्र बन्न नसक्ने जिकिर गरिन्।
प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर संसदमा अन्य दलका नेताहरूले पनि आ-आफ्नो धारणा राखेका छन्। नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने सम्बन्धमा सत्तापक्षका मुख्य सचेतकले दिएको जानकारीलाई लिएर सभामुखबाटै स्पष्ट रुलिङ हुनुपर्ने माग गरे।
त्यस्तै, राप्रपाकी सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा दलहरूबीच भएका सहमति र समझदारीलाई अक्षरसः पालना गर्न सत्तापक्षलाई आग्रह गरिन्। बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले संसद्को गरिमा कायम राख्न सबैलाई संयमित हुन अपिल गर्दै सत्तापक्षले प्रतिपक्षको आवाज र आलोचनालाई सधैँ सुन्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री संसदमा आउने सत्तापक्षको आश्वासनपछि प्रतिपक्ष केही शान्त देखिएको छ।
प्रतिक्रिया