×

श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

images

काठमाडौँ, १३ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गर्नुभएको छ ।

अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गर्नुभयो । उहाँले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । 

केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उहाँले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उहाँले प्रयास जारी राख्न अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो, “हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न, भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनुहुन्न, दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।” सो क्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिनुभयो । कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो ।

मङ्गलबार १३ चैत २०८० ०९:२४ PM मा प्रकाशित

प्रतिक्रिया