×

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हाम्रो एजेण्डा हो , कार्यकारी भएर बालेन ,हर्कनै आए पनि फरक पर्दैन : प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आफूहरुको एजेण्डा रहेको बताएका छन् । आज (बुधबार) प्रेस सेन्टर नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचार रोक्ने, सुशासन र स्थायित्व खोज्ने हो भने सिस्टम सुहाउँदै शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिने बताएका हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलगायतका नाम लिँदै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले उनीहरुलाई लोकतन्त्रको फूलको संज्ञा दिए । आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारी भएर उनीहरु आएपनि केही फरक नपर्ने उनले सुनाए ।प्रचण्डले हर्क, बालेनलगायतका मानिसहरुलाई आफूले आफ्नै मान्छे ठानेको पनि बताए । ‘हर्क आएपनि फरक पर्दैन, बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु ।’

उनले भने,‘सरकार मैलेभन्दा पनि सरकारमा भएका नेताहरूले नै ढल्छ भनेर भन्ने गरेको कुरालाई बेलाबेलामा संकेत गर्ने गरेको हुँ । अर्को, किन मैले ढल्छ भनेको हो भने यो सरकार जसरी गठन भएको छ, त्यो नै अस्वाभाविक छ, अप्राकृतिक छ । त्यसकारण आफ्नै बोझले सरकार ढल्छ भनेको हो । फाइदाको कुरा भन्नुहुन्छ भने उनीहरू ०८४ सम्म बसे पनि हामीलाई कुनै टेन्सन छैन । हामी जनताको बिचमा जान्छौँ । हाम्रो वर्गतिर, हाम्रो मुद्दा, सहिद परिवार, बेपत्ता परिवारतिर फर्किएका छौँ । त्यसले एउटा ऊर्जा पैदा भएको छ । त्यसकारण हामी सरकार अहिले ढाल्ने र बनाउने खेलमा चाहिँ बिल्कुलै छैनौँ । पत्रकार साथीहरूले यो कुरामा विश्वस्त भएर भनिदिए हुन्छ । माओवादी सरकारको खेलमा छैन ।’

यद्धपी उनले सरकार नै ढाल्न नसक्ने हो र ? भनेर सोध्दा अहिले धेरै कुरा किन भन्नु भन्दै केही समय पर्खनुपर्ने संकेत गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले कसैले उक्साएर बोलेको भन्दै आफूले त्यतिधेरै महत्व नदिएको स्पष्ट पारे ।

बुधबार १४ फागुन २०८१ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया