×

माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू आज आएर केही गर्छु भनेर नाटक गर्दैछन-सभापति गगन थापा

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी चुनावलाई बाध्यताको चुनाव भएको बताएका छन्। नेपाली कांग्रेसले सुर्खेतमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाव नेपालका लागि संविधानलाई सही ट्रयाकमा राख्न अनिवार्य सर्तसमेत भएको उल्लेख गरे।

चुनाव सफल बनाउन नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको बताउँदै उनले फागुन २१ गतेको चुनावको सन्दर्भमा भदौ २३ र २४ गतेका घटनालाई बिर्सन नहुने धारणा राखे।

उनले भने, ‘यो चुनाव बाध्यताको चुनाव हो। यो चुनाव नेपालका लागि अहिले हाम्रो संविधानलाई ट्रयाकमा राख्नका निम्ती अनिवार्य सर्त पनि हो। चुनाव सफल बनाउनका निम्ती नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेको छ। फागुन २१ गतेको चुनावको सन्दर्भमा हामीले भाद्र २३ र २४ गतेको कुरालाई बिर्सेर हुँदैन।’

उनले देशमा अब सरकारको गोलीबाट कुनै नागरिकको ज्यान जान नहुने र कुनै पनि व्यक्तिले नकाब लगाएर सिंहदरबार जलाउने जस्ता गतिविधि गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्ने बताए। त्यसका लागि चुनावमा जाँदा भदौ २३ र २४ का घटनालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।

थापाले केही शक्तिहरूले भदौ २३ र २४ मा भएका घटनालाई इन्कार गर्ने प्रवृत्ति देखिएको आरोप लगाए। ती घटनाअघि सबै कुरा सामान्य थियो भन्ने तर्क गलत भएको उनको जिकिर थियो।

उनले भने, ‘यो देशमा अब सरकारको गोलीबाट कुनै व्यक्तिको ज्यान जानु हुँदैन। यो देशमा कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनु हुन्न। यो अवस्था सिर्जना गर्नुपर्नेछ। त्यसको लागि चुनावमा जाँदै गर्दा भाद्र २३ र २४ लाई हामीले हेर्नैपर्छ। एउटा परवृत्ति छ भाद्र २३ र २४ गते जे भयो त्यसलाई उसले इन्कार गर्छ। २३ र २४ गते अगाडि सबैले दुधभात खाएका थिए देश ठिक थियो। नेपाली कांग्रेस भिन्न सोचका साथ उभिएको छ। नेपालको राजनीति फोहोर भएको छ। गठबन्धनको राजनीतिले नेपालको समग्र राजनीतिलाई दूषित बनाएको छ। त्यसैले नेपाली कांग्रेस एउटा संकल्पका साथ यो फोहोर राजनीतिलाई हामी सफा गर्छौं। यो प्रदूषित राजनीतिलाई हामी सफा गर्छौं। ८२ देखि ८७ सम्मको पाँच वर्ष हामी देश र जनतालाई स्वर्णिमकाल हामी बनाउँछौं भन्ने सपना बोकेर आएका छौं।’

उनले नेपालको राजनीति फोहोर र प्रदूषित बनेको उल्लेख गर्दै गठबन्धनको राजनीतिले समग्र राजनीतिक वातावरणलाई दूषित बनाएको आरोप लगाए। नेपाली कांग्रेस फरक सोच र संकल्पका साथ अघि बढेको बताउँदै उनले फोहोर तथा प्रदूषित राजनीतिलाई सफा गर्ने प्रतिबद्धता व्यक्त गरे। ८२ देखि ८७ सम्मको पाँच वर्षलाई देश र जनताका लागि स्वर्णिमकाल बनाउने सपना बोकेर कांग्रेस अघि बढेको पनि उनले बताए।

सभालाई सम्बोधन गर्दै थापाले भने,‘विगत पाँच ६ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो। यसले तन्नेरीलाई रुष्ट बनायो। देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो। अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ। यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ। हामीलाई नेपालको सीमितता थाहा छ। हामी यसलाई सुधार्छौँ। प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ। पाँच वर्ष भनेर कुरेर बस्दैनौँ। बैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौं भन्छ कांग्रेसले। जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ।’

 थापाले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए। तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए।

उनले भने,‘आओस् एमाले, आओस् नेपाली कम्युनिस्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाउँ भन्दा कोही नआउने। हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरूलाई कर्णालीबासीले नपत्याओस्।’

सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए। उनले सम्बोधनका क्रममा भने,‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन। कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन।’

बिहीबार १४ फागुन २०८२ ०८:०५ PM मा प्रकाशित

प्रतिक्रिया